देश

सडक महोत्सवको निम्तो दिन पोखराको टोली जनकपुरधाममा

जनकपुर, मंसिर २७–पोखरामा हुने सडक महोत्सवको निम्तो दिन पोखराको एक टोली जनकपुरधाममा आइपुगेको छ । गण्डकी प्रदेशले भिजिट नेपाल २०२० लाई लक्षित गर्दै पोखरामा आगामी १२ पुसदेखि १६ सम्म ‘२१औं पोखरा सडक महोत्सव’ आयोजना गर्दैछ । सोही महोत्सवको निम्तो दिन भिजिट नेपाल २०२० गण्डकी प्रदेशको टोली जनकपुरधाममा आइपुगेको हो । प्रदेश सरकारले सो महोत्सवको प्रचारप्रसार अभियान अहिले देशव्यापी रूपमा चलाइरहेको छ ।

जनकपुरधाममा आयोजित एक कार्यक्रममा सो टोलीले जनकपुर–पोखरा–काठमाडौंलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा प्रचारप्रसार गर्नुपर्ने आवश्यकतामाथि जोड दिएको छ । महोत्सवका संयोजक लक्ष्मण बरालले जानकी मन्दिर, मुक्तिनाथ मन्दिर र पशुपतिनाथ मन्दिरलाई जोड्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । ‘पोखरा सडक महोत्सवका क्रममा पर्यटकीय केन्द्र लेकसाइडको ३ किलोमिटरमा महोत्सव आयोजना गरिनेछ । त्यहीँ नै पर्यटक नाच्न पाउँछन्, गाउन पाउँछन्, खान पाउँछन्, संगीतमय वातावरणमा झुम्न पाउँछन्,’ आयोजकले बताएका छन् ।

Featured