देश

मेयरको मृत्यु भए एक दिन शोक बिदा !

इलाम, मंसिर २७–इलाम नगरपालिकाले नगरप्रमुख र उपप्रमुख पदमा बहाल रहेको अवस्थामा मृत्यु भएमा नगरपालिका अन्तर्गतका कार्यालय र शैक्षिक संस्थाहरुमा १ दिन शोक बिदा दिने निर्णय गरेको छ । नगरकार्यपालिकाको शुक्रबार बसेको बैठकले नगर प्रमुख र उपप्रमुख सहित वडाध्यक्ष तथा कार्यपालिका सदस्य र वडा सदस्यको पदमा बहाल रहेको अवस्थामा मृत्यु भएमा सम्बन्धित वडा कार्यालय वडामा रहेको शैक्षिक संस्थाहरुमा १ दिन शोक विदा दिने निर्णय गरेको छ ।

यस्तो बिदा पाउन भने जनप्रतिनिधिको स्वभाविक मृत्यु हुनुपर्ने नगरपालिकाका प्रबक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिए । इलाम नगरपालिकाले नगर क्षेत्रका जेष्ठ दलित नागरिकलाई स्वास्थ्य वीमा गरिदिने भएको छ । शुक्रबार बसेको नगरकार्यपालिकाको बैठकले आगामी १ पुषदेखि लागू गरि पारिवारिक स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको हो ।

नगर क्षेत्रका ६० देखि ७० वर्षका जेष्ठ दलितहरुलाई स्वास्थ्य वीमा गरिदिने निर्णय भएको श्रेष्ठले जानकारी दिए । नगरपालिकाले एकबर्षमा बढीमा ६ दिन स्थानीय सार्वजनिक विदा दिने भएको निर्णय पनि गरेको छ । त्यस्तै संघीय तथा प्रदेश सरकारले घोषणा गरेको विदा अतिरिक्त स्थानीय चाडपर्व महोत्सव आदिको अवसरमा वर्षमा ६ दिन भन्दा नबढार्ई कार्यपालिकाबाट निर्णय गरी विदा दिनसकिने निणृय गरेको छ ।

Featured