देश

मौसम बदलीः उच्च पहाडमा हिउँ, तराईमा शीतलहर

काठमाडौं, मंसिर २७–शुक्रबारबाट अचानक बढेको जाडो र वर्षाका कारण देशका उच्च पहाडी भागमा हिमपात र तराईमा शीतलहरको प्रभाव देखिन थालेको छ । सुदूरपश्चिमका पहाडसँगै उपत्यकाआसपासका डाँडामा हिउँ पर्न थालेसँगै तराईका अधिकांश भूभागमा शीतलहर चलेको छ । चिसो बढेसँगै परेको झरी र शीतलहरका कारण मध्य तराईमा जनजीवन प्रभावित बन्न थालेको छ । मौसमी परिवर्तनसँगै एक्कासि चिसो, शीतलहर र हिउँदे झरीले मध्य तराईको जनजीवन प्रभावित बन्न थालेको हो ।

बिहानैदेखि घाम ढाकेर आएको शीतलहरमा मध्यान्हपछि आएको झरीले मध्य तराईमा चिसो ह्वात्तै बढेको छ । अघिल्लो वर्ष ५ पुसदेखि शीतलहर सुरु भई २० दिन घाम नदेखिएको मध्य तराईमा यो वर्षको मौसमी परिवर्तनले अहिलेदेखि नै शीतलहर सुरु भएको स्थानीयको पनि भनाइ छ । पर्सा, बारालगायत सीमावर्ती क्षेत्रमा शुक्रबार दिनभर घाम देखिएन । शुक्रबारबाट हुस्सु सुरु भएको छ । बिहानैदेखि परेको ओस र शीतलहरले बाटोमा पनि यात्रुहरूको संख्या पातलिएको छ ।

स्थानीय प्रशासनले भने अझै केही दिनमा मात्र चिसोको कारण पीडित हुनेहरूका लागि विकल्पसहितको प्याकेज बनाउने तयारी गरिरहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भई अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली भूभागमा हिमपातसमेत भएको छ । विभागले आगामी २४ घण्टासम्म पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपात हुने जनाएको छ । त्यसैगरी मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भूभागमा पनि हिमपात हुने सम्भावना भन्दै सचेत रहन आग्रह गरेको छ ।

Featured