देश

कालापानीबाट भारतीय सुरक्षा दस्ता हटाउन संसदीय समितिको निर्देशन

काठमाडौं, मंसिर २७–संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट भारतीय सुरक्षा दस्ता फिर्ताको पहल गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारलाई लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्नेलगायतका पाँचबुँदे निर्देशन दिएको हो ।

समिति सभापति पवित्रा निरौला खरेलको अध्यक्षतामा बसेको सो बैठकले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका भारतीय अतिक्रमणमा परेका नेपाली भूभागमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक, कूटनीतिक तहमा अविलम्ब वार्ता गरी समस्याको समाधान गर्न निर्देशन दिएको छ । बैठकले नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न, गृह, भूमि व्यवस्था, परराष्ट्र मन्त्रालयसहित अन्य मन्त्रालय र निकायहरूको संयुक्त समन्वयकारी संयन्त्र निर्माण गरी प्रभावकारी काम गर्न निर्देशन दिएको छ ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेत भारतीय भूमिका रहेको देखिने गरी नक्सा सार्वजनिक गरेपछि सरकारले ती भूभाग नेपालको रहेको प्रमाणस्वरुप नक्सा सार्वजनिक गर्न नसकेको भन्दै शुक्रबारको समिति बैठकमा सांसदहरूले आपत्ति जनाए । समितिले नेपालको भूमि र नागरिकको सुरक्षा गर्न दार्चुला जिल्लाको कालापानीसमेतको क्षेत्रका नेपालीलाई आवतजावत गर्न बाटो र अन्य सेवा सुविधाको उपयुक्त व्यवस्था गर्नसमेत निर्देशन दिएको छ । बैठकमा उपस्थित भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले प्रमाण जुटाएर नेपालको प्रतीक चिन्हमा लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूगोलसमेत समेटेर नक्सा सार्वजनिक गर्ने बताएकी थिइन् ।

Featured