देश

पोखरामा साढे २ करोड लागतमा बन्ने आकाशे पुलको शिलान्यास

पोखरा, मंसिर २७–पोखराको सिर्जना चोकमा आकाशे पुल निर्माण हुने भएको छ । पोखरामा बढ्दो सवारी चापका कारण बाटो काट्न यात्रुहरुको सहजताका लागि आकाशे पुल निर्माण गरिन लागेको हो । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले आज (शुक्रबार) आकाशे पुलको संयुक्त रूपमा शिलान्यास गरे । शिलान्यास समारोहमा बोल्दै मुख्य मन्त्री गुरुङले विकास निर्माणका सबै योजनाहरु गुणस्तरीय र दिगो हुनुपर्ने बताए । उनले सो पुल पनि मजबुत र टिकाउ निर्माण हुनेमा विश्वास व्यक्त गरे ।

मुख्य मन्त्री गुरुङले बढ्दो सवारीसाधनको चापलाई मध्यनजर गर्दै प्रदेश सरकार ४ लेनको सडक बनाउन अग्रसर भएको बताउँदै आकाशे पुल पनि सोहीअनुरुप निर्माण गर्नुपर्ने बताए । अबको १० वर्षमा पोखरा समेत काठमाडौंजस्तै सवारी चापले आक्रान्त बन्ने उल्लेख गर्दै समयमै व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक रहेकोमा जोड दिए । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले पोखरामा बढ्दो सवारी चापलाई मध्यनजर गर्दै यात्रुको सहजताका लागि आकाशे पुल निर्माण थालिएको बताए ।

उनले महानगरपालिकाबाट विनियोजित २ करोड र दिवंगत रवीन्द्र अधिकारीले संसदीय कोषबाट विनियोजन गरेको ५० लाख गरी अनुमानित २ करोड ५४ लाख ४२ हजारको लागतमा पुल निर्माण थालिएको जानकारी दिए । प्रमुख जिसीले आगामी २७ साउनभित्र पुलको निर्माण सम्पन्न गर्नेगरी गत ५ जेठमा के.एमरजे.बी.एन.एसरपोखरारजेरभीसँग सम्झौता गरिएको बताए । उक्त कम्पनीसँग कुल २ करोड, ३० लाख ११ हजार (भ्याटसहित) रुपैयाँमा सम्झौता गरिएको छ । पोखरा महानगरपालिका–८ सिर्जना चोकमा निर्माण हुने उक्त पुलको प्रकार ‘स्टील ट्रस पेडेस्ट्रियन ओभरहेड ब्रीज’ रहेको निर्माण पक्षले जनाएको छ ।

Featured