देश

पत्रिका वर्गीकरणमा असन्तुष्टि जनाउँदै प्रेस काउन्सिलमा ताला

काठमाडौं, मंसिर २७–प्रेस काउन्सिलको शुद्धिकरण र पत्रपत्रिका वर्गीकरण खारेज गर्न माग गर्दै प्रेस काउन्सिल नेपालमा तालाबन्दी गरिएको छ । असन्तुष्ट पक्षले संघर्ष समिति बनाई काउन्सिलमा एक घण्टा धर्नामा बसेपछि ताला लगाइएको संघर्ष समितिका संयोजक दीपक पाण्डेले बताए ।

धर्नामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहाल, महासंघका पूर्वकेन्द्रीय सदस्य ईश्वरी वाग्ले, रामहरि सिलवाल, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव सिर्जन झा, प्रेस संगठनका उपत्यका सदस्य तारा नेपाल, प्रेस युनियनका उपत्यका सल्लाहकार पदमराज जोशी, क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय सचिव रमेश महतरा, प्रेस सेन्टर नेपाल प्रदेश ३ का संयोजक कुमार वाङ्देललगायत सहभागी भएको पाण्डेले जानकारी दिए ।

काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा उनीहरूले ताला लगाइदिएका हुन् । कार्यवाहक अध्यक्षको कार्यकक्षमा लगाइएको तालाको साँचो सञ्चारमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको पाण्डेले बताए । काउन्सिलले सरकारले दिएको रकम बाँड्ने नाममा छापामाध्यमलाई मात्र हचुवाको भरमा रकम वितरण गर्दै आएको छ ।

Featured