देश शिक्षा

गोकुले माविमा नर्सको सेवा सुरु

बनेपा, मंसिर २७–प्रदेश नं ३ सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई अगाडि सारेसँगै महाभारत गाउँपालिका(१ गोकुलेस्थित गोकुले माविमा नर्सद्वारा सेवा सुरु गरिएको छ । प्रदेश नं ३ सरकारले एक विद्यालय एक नर्सको अभियान थालनी गरेपछि अहिले नमुनाका रूपमा एक पालिकाभित्रको एउटा माध्यमिक विद्यालयमा एक जना नर्सको व्यवस्था गरेर सेवा थालनी गरिएको हो । सोहीअनुरूप महाभारत गाउँपालिकाले गोकुले माविमा एक महिना अगाडिदेखि नर्स नियुक्त गरिसकिएको छ । नर्स एञ्जिला श्रेष्ठले गत कात्तिक २० गतेदेखि नियुक्ति पाएर काम सुरु गरेको बताइन् । नमुनाका रूपमा उक्त विद्यालयमा सुरु भएको अभियानमा अहिले विद्यार्थीलाई व्यक्तिगत सरसफाइका लागि दैनिक परामर्श दिन थालेको उनले बताइन् । ‘स्वास्थ्यबारे सचेत गराउनुका साथै खानपिनमा विशेषगरी ‘जंक फुड’ नखान विद्यार्थीलाई कक्षामा प्रशिक्षण दिने तयारीमा छु,’ उनले भनिन्।

त्यससँगै मनोवैज्ञानिक रूपमा ‘काउन्सिलिङ’ गर्नुपर्ने भएकाले त्यस विषयमा पनि बिस्तारै प्रक्रिया अगाडि बढाइरहेको श्रेष्ठले बताइन् । उनले अहिले दाँत सफा गर्न सल्लाह दिने, कपाल नकोरी विद्यालय आउनेलाई सुझाव दिने र हात धुने तरिकादेखि पूर्ण सरसफाइमा ध्यान दिने खालका सिकाइमा केन्द्रित भएको बताइन् । साना कक्षाका विद्यार्थीलाई आफैँले प्रदर्शन गरेर देखाउने र गरिसकेका विद्यार्थीलाई उदाहरणका रूपमा प्रस्तुत गरेर स्वच्छ र पूर्ण सरसफाइमा उत्प्रेरित गराउने काम गर्दै आएको श्रेष्ठको भनाइ छ । उनले विद्यार्थीको हातखुट्टालगायत शरीरका विभिन्न ठाउँमा आएका घाउ खटिराको ‘ड्रेसिङ’ गर्ने काम पनि गर्दै आएकी छन् । अरू थप उपचारलगायतका सामग्री भने गाउँपालिका स्वास्थ्य शाखाबाट गर्नुपर्ने भएकाले त्यसको व्यवस्थापन हुन बाँकी रहेको उनले बताइन् ।

विद्यालयका प्रधानाध्यापक पदम तिमल्सिनाले सामग्री प्राप्त नभइन्जेलसम्मका लागि विद्यालयमा नै भएको प्राथमिक उपचार बाकसमा भएका सामग्री प्रयोग गरिएको बताए । स्वास्थ्यसम्बन्धी प्रशिक्षणका कक्षा सञ्चालन गरेको उनले बताए । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले विद्यालयमा आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी सामग्री छिट्टै उपलब्ध गराउने तयारी भइरहेको बताए । ‘प्रदेश सरकारबाट नर्सको व्यवस्था भइसकेको छ, अब हामी पालिकाबाट गर्नुपर्ने औषधि उपकरणको व्यवस्थापनको काममा छिट्टै लाग्नेछौँ,’ जिम्बाले भने । (रासस)

Featured