देश

नयाँ नक्सा जारी गर्न सरकार जोखाना हेरेर बस्यो : भीम रावल

काठमाडौं, मंसिर २७–सरकारले पश्चिम लिम्पियाधुरासहितको भूभागलाई समेटेर नयाँ सार्वजनिक गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले प्रमाण जुटाएर लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गर्ने बताएकी हुन् । संघीय संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा सांसदहरुले भारतको नयाँ नक्सा र सरकारको आगामी कदमबारे प्रश्न गरेका थिए ।

सत्तारुढ नेकपाका नेता तथा समिति सदस्य भीमबहादुर रावलले आफ्नो भूमि राखेर नक्सा सार्वजनिक गर्न सरकारले कसको अनुमति वा सल्लाह खोजेको हो ? भनी प्रश्न गरेका थिए । उनले आफ्नो देशको नक्सा बनाउन सरकारलाई जोखाना हेरेर नबस्न सुझावसमेत दिए । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावलले देशको प्रतीक चिन्हमासमेत आफ्नो भूभाग नराखेकोमा आपत्ति जनाउँदै प्रतीक चिन्हमा नेपालको भूभाग नराख्नेका बारेमा पनि छानबिन गरेर कारबाही गर्न माग गरे ।

सांसदहरुले नापी विभागले नक्सा सार्वजनिक नगर्दा गम्भीर प्रश्न उठेको टिप्पणी गरे । समिति बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले भारतले सीमामा गोर्खा राइफल्ससहित थप सुरक्षाकर्मी खटाएको भन्दै नेपालले पनि सुरक्षा बल विस्तार गर्ने बताए । गृहमन्त्री थापाले सन् १९६२ को भारत–चीन युद्धपछि झन्डै ४ सय किलोमिटर नेपाली क्षेत्र मिचेको बताए ।

Featured