विदेश

बेलायतमा कन्जर्भेटिभ पार्टीले पुनः बुहमत पाउने सम्भावना

एजेन्सी, मंसिर २७बेलायतमा भएको आम निर्वाचनमा पुनः कन्जर्भेटिभ पार्टीले बहुमत ल्याउने बीबीसी, आईटभी र स्काइ न्यूजका लागि गरिएका मत सर्वेक्षणले देखाएका छन्। मतदान गरेर निस्किरहेका मतदाताहरूसँग गरिएका त्यस्ता अनौपचारिक प्रारम्भिक मत सर्वेक्षणका नतिजामा कन्जर्भे्टिभले ६५० मध्ये ३ सय ६८ स्थानमा जित हासिल गर्ने देखाएको छ।

जुन यसअघि सन् २०१७ मा सम्पन्न चुनावमा आएको नतिजाभन्दा ५० स्थान धेरै हो । बेलायतको इतिहासमा एक सय वर्षमा पहिलोपटक डिसेम्बर महिनामा आमनिर्वाचन भएको हो । यो निर्वाचनमा यूरोपेली संघ (ईयू)बाट बेलायत बाहिरिने विषय प्रमुख मुद्दा बनेको छ। लेबर पार्टीले १ सय ९१ सिट, लिबरल डेमोक्रेटिक पार्टीले १३ र स्कटिश नेसनल पार्टीले ५५ सिटमा जित हात पार्ने अनुमान गरिएको छ ।

सो सर्वेक्षणले ब्रेक्जिट पार्टीले कुनै सिट नजित्ने र ग्रिन पार्टीले एक सिट जित्न सक्ने देखाएको छ। सर्वेक्षणहरूका अनुसार कन्जर्भे्टिभ पार्टीले सन् १९८७ यताकै सबैभन्दा ठूलो जित हासिल गर्ने देखिएको छ। यदि त्यसो भएमा त्यो लेबरहरूका लागि सन् १९३५ यताकै सबैभन्दा कमजोर पराजय हुनेछ। लेबरहरूले यो चुनावमा ७१ सिट गुमाउने देखिएको छ। अन्तिम नतिजाका लागि भने शुक्रवार मध्यान्हसम्म कुर्नुपर्नेछ।

Featured