देश

बलात्कार प्रयास आरोपमा पक्राउ परेका डाक्टर थुनामुक्त

काठमाडौं, मंसिर २७–बलात्कार प्रयासको आरोपमा पक्राउ परेका नेपाल मेडिसिटी अस्पतालका डा. रोहितकुमार झा थुनामुक्त भएका छन् । जबरजस्ती करणी उद्योग अन्तरगत मुद्दा अघि नबढाउन सरकारी वकिलको कार्यलयले आदेश दिएको छ । झा बिहीबार नै थुनामुक्त भएका हुन् । जिल्ला सरकारी वकिलको कार्यालयले मिसिल अध्ययन गर्दा जबरजस्ती करणी उद्योग नभई यौन दुव्र्यवहार भएको पाइएको भन्दै थुनामुक्त गर्ने आदेश दिएको जनाएको छ ।

सरकारी वकिलको कार्यालयले थुनामा राख्नु नपर्ने आदेश दिएपछि हाजिरी जमानीमा झालाई थुनामुक्त गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ । परिसरका सहप्रवक्ता डीएसपी सन्तोष तामाङ्गले बिहीबार डा. झालाई परिवारको जिम्मा लगाइएको जानकारी दिए । प्रहरीले गत ९ मंसिरमा मेडिसिटी अस्पतालका जनरल फिजिसियन झालाई पक्राउ गरेको थियो । महाराजगञ्जकी ३० वर्षीय एक महिलाको जाहेरीमा प्रहरीले झालाई पक्राउ गरेको थियो । तर उनको प्रक्राउ प्रक्रियाको चिकित्सकहरूले विरोध जनाएका थिए । नेपाल चिकित्सक संघले त विज्ञप्ती नै जारी गर्दै विरोध जनाएको थियो ।

Featured