देश

अब एकै शिक्षकबाट सबै विषय अध्यापन

काठमाडौं, मंसिर २७–कक्षा १–३ मा अध्यापन गर्दै आएका हरेक शिक्षकले आगामी नयाँ शैक्षिक सत्रबाट सबै विषय अध्यापन गर्नुपर्ने छ । हाल पृथक् विषयमा विषयगत शिक्षकले अध्यापन गर्ने गरेका छन् । आगामी शैक्षिक सत्रबाट एकीकृत पाठ्यक्रम लागू हुँदैछ । सोअनुसार कक्षा १–३ का शिक्षकले सो तहमा लागू हुने सबै विषय अध्यापन गर्नुपर्ने हुन्छ । पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी (उपसचिव) गणेशप्रसाद भट्टराईले अब एउटै शिक्षकले सबै विषय अध्यापन गर्नुपर्ने हुन्छ भन्दै थपे, “एउटै विषयवस्तु भएकाले उनीहरूले अध्यापन गर्न सक्छन् ।

आगामी वर्षबाट कक्षा १–३ मा नेपाली, अङ्ग्रेजी, गणित र मेरो सेरोफेरो विषय अध्यापन गरिनेछ । चालू शैक्षिक सत्रमा कक्षा १–३ मा नेपाली, अङ्ग्रेजी, गणित, सामाजिक, विज्ञान, स्वास्थ्य र स्थानीय विषय अध्यापन गरिँदै आएको छ । प्राथमिक तहमा साविकको एसएलसी र प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भएका शिक्षकहरू अधिक सङ्ख्यामा कार्यरत छन् । नयाँ नियुक्त भएका शिक्षकको योग्यता बढी छ । पुराना शिक्षकले नेपाली, अङ्ग्रेजी, गणित अध्यापन गर्न कठिन हुने शिक्षाविज्ञहरूको भनाइ छ ।

सरस्वती निकेतन मावि, ब्रह्मटोलका प्रधानाध्यापक रविना महर्जनले एकीकृत पाठ्यक्रमको अवधारणा निकै राम्रो भए पनि एउटै शिक्षकले अध्यापन गर्दा चाहेजस्तो सिकाइ कक्षाकोठाभित्र प्रवेश गर्न नसक्ने सम्भावना रहने बताए । नयाँ पाठ्यक्रम लागू हुने समय नजिकै आइसक्दा पनि शिक्षकलाई तालिम दिनेलगायतका तयारी भइसकेको छैन । शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले पाठ्यक्रमका दृष्टिकोणले एकीकृत पाठ्यक्रमको सोच उपयुक्त भएको तर त्यसअनुरूप अध्यापन गर्ने शिक्षक तालिम प्राप्त नभइसकेकाले समस्या सिर्जना हुन सक्ने बताए । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

Featured