देश

आगलागीले ध्वस्त भएको खाँडागाउँका हरेक घरमा धारा निर्माण हुने

सुर्खेत, मंसिर २६–आगलागीले गाउँ नै जलेको कालिकोटको पलाता गाँउपालिका–१ खाँडागाउँमा एक घर एक धारा निर्माण हुने भएको छ । आगलागीबाट पूर्णरुपमा गाउँ नै क्षतिग्रस्त भएपछि स्थानीय गैरसरकारी संस्था हुरेन्डेक नेपाल, कालिकोटद्वारा सञ्चालित क्याफ्स कर्णाली परियोजनाले एक घरमा एक धारा निर्माणको काम अगाडी बढाएको हो । गत वर्ष ८ पुसमा भएको आगलागीबाट खाँडागाउँको पुरै बस्ती नै सखाप भएको थियो ।

आगलागीबाट गाउँ नै ध्वस्त भएपछि कर्णाली प्रदेश सरकारले खाडाँगाउँमा ३२ घर निर्माण गरिरहेको र अब १ सय २० घरधुरीमा खानेपानीको काम अगाडी बढेको गाउँपालिकाका उपाध्यक्ष दाना न्यौपाने बताइन् । ‘१ करोड १५ लाख २१ हजार ७ सय १५ रुपैयाँको लागतमा एक घर एक धारा निर्माणको काम अगाडी बढेको छ,’ उनले भनिन्, ‘आगोले खरानी बनेको यो बस्तीका हरेक घरमा धारा बनेपछि पीडितहरुलाई ठुलो राहत हुने हामीलाई विश्वास छ ।’

Featured