खेलकुद देश

शनिबारदेखि सुरु हुने ‘ए’ डिभिजन लिगलाई कतार एयरवेजको साथ

काठमाडौं, मंसिर २६–नेपालको सबैभन्दा ठूलो फुटबल लिग शहिद स्मारक ‘ए’ डिभिजन लिगलाई कतार एयरवेजले प्रायोजन गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले शनिबारदेखि सुरु हुने लिगको मुख्य प्रायोजक कतार एयरवेज रहेको बिहीबार जानकारी गराएको हो । नेपालको लिगका लागि अन्तर्रा्ष्ट्रिय कम्पनी प्रायोजक बनेको पहिलो हो ।

कतार एयरवेजले युरोपियन क्लब वायर्न म्युनिख र एएस रोमालाई प्रायोजन गर्नुका साथै फिफा विश्वकपको साझेदार पनि रहेको छ । एन्फा र कतार एयरवेजबीच १ लाख ५० हजार अमेरिकी डलरको सम्झौता भएको हो । सम्झौताअनुसार कतार एयरवेजले एन्फालाई दुई किस्तामा रकम उपलब्ध गराउनेछ । पहिलो किस्तामा ९० हजार तथा दोस्रो किस्तामा ६० हजार डलर दिनेछ ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले कतार एयरवेजको आगमनसँगै नेपाली लिगलाई उचाइमा र्पुयाउने कार्यको सुरुवात भएको बताए । अब ‘कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग’को नामबाट सञ्चालन हुनेछ । एन्फाले लिगमा ६ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरेको छ । लिगको विजेताले गत वर्षकै बराबर ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै दोस्रोले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख र पाँचौंले ७ लाख रुपैयाँ पाउनेछ । यस्तै हरेक खेलको विजेताले ५० हजार र बराबरी भएमा दुवै क्लबले १५(१५ हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ ।

लिगका उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकले डेढ लाख रुपैयाँ नगद पाउनेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ र फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगमा सहभागी क्लबले ४ जनासम्म विदेशी खेलाडी राख्न पाउने एन्फाले जनाएको छ । दशरथ रंगशालमा हुने खेलका दर्शकले भीआईपी प्याराफिटतर्फ ५ सय र साधारण प्याराफिटतर्फका लागि २ सय रुपैयाँ तिर्नुपर्नेछ ।

मंसिर २८ गते दिउँसो ३ बजे लिगको उद्घाटन खेलमा मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब आमनेसामने हुनेछन् । फाइनल खेल फागुन ३ गते हुनेछ । लिगमा विमल घर्तीमगर, अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङले खेल्ने नखेल्ने भन्ने टुंगो नलागेको एन्फाले जनाएको छ । लिगमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबसहित थ्री स्टार, संकटा, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, मच्छिन्द्र, एनआरटी, हिमालयन शेर्पा, फ्रेन्ड्स, जावलाखेल युथ, सरस्वती युथ, च्यासल युथ र ब्रिगेड ब्वाइज क्लब गरी १४ टिम रहनेछन् ।

Featured