देश

उद्योगीलाई धम्की दिई फिरौती असुल्ने गिरोह पक्राउ

जनकपुरधाम, मंसिर २६–उद्योगी व्यपारीलाई धम्की दिनुका साथै बम विस्फोट गराई फिरौती रकम माग्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको परवानिपुर गाँउपालिका–४ का ३१ वर्षीय प्रमोद साह गोढ, २० वर्षीय देव शंकर राम, बाराकै जीतपुर सिमरा उपमहानगरपालिका–२० का २० वर्षीय अच्छेलाल गोसाई र बाराकै फेटा गाँउपालिका–३ का ३९ वर्षीय दिपेन्द्रकुमार धानुक रहेको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिएका छन् ।

बाराको परवानिपुर गाउँपालिका–४ एमएस इट्टा उद्योगका सञ्चालक मनोजप्रसाद साह तेलीसँग चारै जनाले ३ महिनाअघि फिरौती वापत १५ लाख रुपैयाँ मागेका थिए । तेलीले रकम दिन अस्वीकार गरेपछि गत कात्तिक ४ गते तेलीको इट्टा उद्योगमा बम विष्फोट गर्नुका साथै फिरौती रकम नदिए ज्यान मार्ने धम्की पनि दिएका थिए ।

उनीहरुले इट्टा उद्योगी तेलीलाई ३ लाख फिरौती लिएर बाराको परवानिपुर–४ चैनपुरमा बुधवार बोलाएका थिए । त्यहीबेला इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले चारै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको गिरोहले बाराकै प्रसौनी गाउँपालिका–४ बस्ने नन्दकिशोरप्रसाद कुम्हाललाई पनि मोबाइलबाट धम्की दिई ५० लाख रुपैयाँ फिरौती मागेको थियो । कुम्हालले फिरौती रकम नदिएपछि १० असोजमा राती उनीहरुले कुम्हालको घर छेउमा सुतली बम पनि विष्फोट गराएका थिए ।

सो गिराहले बाराकै परवानिपुर गाउँपालिका–४ स्थित नारायणी आयल रिफाइनरीका सञ्चालकलाई पनि फिरौतीका लागि फोन गरी धम्की दिएको खुलेको छ । फिरौती रकम नपाएपछि उनीहरुले असोज २ गते उद्योग छेउमा सुतली बम विष्फोट गरी तर्साएर २५ हजार रुपैयाँ लिएका थिए । पक्राउ परेका चारैजनालाई हिरासतमा राखी अनुसन्धान शुरु गरिएको प्रहरी उपरिक्षक खनालले जानकारी दिएका छन् ।

Featured