देश मनोरंजन

नेपाल–अमेरिका चलचित्र महोत्सव जूनमा हुने

काठमाडौं, मंसिर २६–नेपाल–अमेरिका अन्तर्रा्ष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २६ देखि २८ जुन, २०२० सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्यान्ड राज्यमा स्थापित गैरनाफामूलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि हरेक वर्ष सो चलचित्र महोत्सवको आयोजना गर्दै आएको छ । वासिङ्टन डीसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना हुने चलचित्र महोत्सवसको चौथो संस्करणका लागि विश्वभरबाट आवेदन खुला गरिएको छ । चलचित्र महोत्सवमा नेपालका फिचर फिल्म, वृत्तचित्र, सर्ट फिल्म, एनिमेसनसहित सबै विधाका चलचित्रहरू प्रदर्शन गरिनेछन् ।

नेपालबाहेक अमेरिका, दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र फिल्ममेकरले बनाएका सिनेमा महोत्सवको प्राथमिकतामा पर्नेछन् । गत वर्षदेखि वासिङ्टन डीसी, मेरिल्याण्ड र भर्जि्नियाका स्थानीय चलचित्रकर्मीहरूलाई प्रोत्साहान गर्न ‘डीएमभी क्लोजअप’ प्रदर्शनी पनि थपिएको थियो । २०२० मा ‘डीएमभी क्लोजअप’ अझ बृहत् गरिने आयोजकले जनाएको छ ।

यस्तै, स्थापनाकालबाटै ‘ग्लोबल पिस फिल्म फेस्टिबल, फ्लोरिडा’सँगको सहकार्यमा प्रदर्शन हुँदै आएका चलचित्रहरू चौथो संस्करणमा पनि समावेश गरिने जनाइएको छ । अन्तर्रा्ष्ट्रिय चलचित्रकर्मीहरूको समितिले आवेदन परेकामध्येबाट प्रदर्शनका लागि उत्कृष्ट चलचित्रको छनोट गर्नेछन् । प्रदर्शित चलचित्रमध्येबाट उत्कृष्ट चलचित्रलाई पुरस्कृत पनि गरिने आयोजकले जानकारी दिएका छन् ।

महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे प्यानल डिस्कसन तथा कार्यशालाहरू पनि आयोजना हुनेछन् । महोत्सवमा चलचित्र प्रदर्शनपछि उपस्थित निर्देशक, निर्माता तथा कलाकारसँग अन्तर्क्िरया कार्यक्रम पनि आयोजना गरिने आयोजकले जानकारी दिएको छ । गत जून महिनामा मेरिल्याण्डको एएफआई सिल्भर थिएटर, सिल्भरस्प्रिङ र रेगल सिनेमा ह्यास्भिलमा सम्पन्न तेस्रो संस्करणको उद्घाटनमा निर्देशक विनोद पौडेलको चलचित्र ‘बुलबुल’ प्रदर्शन गरिएको थियो भने निर्देशक प्रविन स्याङ्बोको ‘कथा ७२’ समापनमा प्रदर्शन भएको थियो।

सो महोत्सव हरेक वर्ष चलचित्रको प्रवर्द्धनमा नयाँ उचाइ कायम गर्न सफल छ । महोत्सवलाई नेपाली मात्र होइन, अमेरिकामा रहेका अन्तर्रा्ष्ट्रिय डायस्पोराकै साझा मञ्चका रूपमा स्थापित गराउने लक्ष्य रहेको आयोजकले बताएका छन् । महोत्सवमा छनोटका लागि अनलाइनमार्फत् आवेदन दिने व्यवस्था गरिएको छ । नेपालका चलचित्रकर्मीहरूले अनलाइनबाट वा ह्युमन राइट फिल्म सेन्टर (एचआरएफ)को कार्यालयमा आवेदन दिन सक्नेछन् । इच्छुक चलचित्रकर्मीको सहजताका लागि आवेदनसम्बन्धी सम्पूर्ण विवरण तथा नियमहरू संस्थाको वेबसाइटमा पनि उल्लेख गरिएको छ ।

Featured