देश राजनीति

दुवै महामन्त्री र पौडेलको अनुपस्थितिमा कांग्रेसले गर्यो तीन निर्णय

काठमाडौं, मंसिर २६–सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन कार्यतालिका प्रस्तुत नगरेको भन्दै महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूले बहिष्कार गरेको केन्द्रीय कार्यसमिति बैठकले तीनवटा निर्णय गरेको छ । महामन्त्री शशांकले बहिष्कार गर्दा अर्का महामन्त्री पूर्णबहादुर खड्का पनि बैठकमा अनुपस्थित थिए ।

महामन्त्रीद्वय नभएपछि बैठकमा नेता प्रकाश शरण महतले तीनवटा एजेण्डा पेश गरे । जसमा पहिलो थियो– संघीयताको मर्मअनुसार स्थानीय तहका पार्टी समितिको गठन । कांग्रेसले निर्वाचन समितिलाई संघीय संरचनाबमोजिम पार्टीका स्थानीय तहको तदर्थ समितिको रिपोर्ट कात्तिक मसान्तसम्ममा दिनुपर्ने भनेको थियो । तर, उसले समयमा दिएन । र, पार्टीले पुनः २५ मंसिरसम्ममा ल्याउन दोस्रो पटक निर्देशन दियो । सो समयमा पनि समितिका संयोजक राधेश्याम अधिकारीले प्रतिवेदन नदिएपछि बैठकले चाँडो पेश गर्न निर्देशन दिने निर्णय गरेको हो ।

बैठकले भर्खरै सम्पन्न साग गेममा सफलता प्राप्त गर्ने खेलाडीलाई बधाई दिने निर्णय गर्दै सागमा सरकारले व्यवस्थापकीय कमजोरी गरेको भन्दै आगामी दिनमा यस्तो गल्ती नगर्न सरकारलाई आग्रह गर्ने निर्णय र्गयो । बैठकले पार्टीका नेता कार्यकर्तालाई सरकारले धमाधम झुटा मुद्दा लगाएको भन्दै यस्तो कार्य बन्द गर्न सरकारलाई आग्रह गर्ने निर्णय र्गयो । कांग्रेस नेता मोहम्मद अफ्ताव आलमविरुद्ध सामूहिक हत्या अभियोगमा मुद्दा दर्ता भएपछि कांग्रेसले यसलाई कार्यकर्ता फसाइएको रूपमा व्याख्या गर्दै आएको छ ।

Featured