देश

४ सय ८० मेगावाटको फुकोट कर्णाली आयोजनाको काम अघि बढ्यो

सुर्खेत, मंसिर २६–फुकोट कर्णाली जलविद्युत् आयोजनाले आयोजना प्रभावित क्षेत्रको जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाएको छ । प्रारम्भिक चरणको अध्ययन प्रतिवेदन तयार पारेर प्रभावित क्षेत्रको जग्गा अधिग्रहणका लागि ऊर्जा मन्त्रालयमा पत्र पठाएको र मन्त्री परिषद् स्तरीय निर्णय हुन बाँकी रहेको आयोजना प्रमुख हिरावान वाइबाले बताए । ‘हामीले जग्गा अधिग्रहणका लागि मन्त्रालयमा पत्र पठाइसकेका छौं,’ उनले भने, ‘मन्त्रिपरिषद्को निर्णय हुन बाँकी छ ।’

पहिलो चरणमा आवश्यक कर्मचारी आवास गृह तथा कार्यालय भवन निर्माणका लागि सान्नी त्रिवेणी गाउँपालिका–२, रकुमा स्थानीयको १ सय ३० रोपनी जग्गा अधिग्रहण पक्रिया अगाडि बढेको प्रमुख वाइबाले बताए । ‘आवास र कार्यालयका लागि जग्गा अधिग्रहण गरेका छौं,’ उनले भने, ‘आयोजनास्थलको अन्य काम अगाडि बढाउन अन्य प्रभावित क्षेत्रको जग्गा पनि अधिग्रहण हुनेछ ।’ ४ सय ८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत् आयोजनाका लागि करिब १५ सय रोपनी जग्गा अधिग्रहण हुने र टनेल निर्माणका लागि ठेक्काको आह्वान गरिसकिएको आयोजना प्रमुख वाइबाले बताए । ‘यो जलाशययुक्त आयोजना हो,’ उनले भने, ‘डुबान पर्ने जग्गा अधिग्रहणको प्रक्रियासमेत सुरु गरिएको छ ।’

पाँच वर्ष्भित्र निर्माण पूरा गर्ने लक्ष्य राखेको आयोजनाका लागि करिब १ खर्ब बजेट आवश्यक पर्ने आयोजना जनाएको छ । त्यसका लागि ३० अर्ब बजेट नेपाल सरकार, कर्मचारी सञ्चय कोषबाट प्राप्त हुनेछ भने बाँकी ७० अर्ब बजेट अन्य दातृ निकायबाट लिनुपर्ने आवश्यकता रहेको प्रमुख वाइबाले बताए । ‘आवश्यक बजेट पूरा भए पाँच वर्षमा नै निर्माण कार्य पूरा हुन्छ,’ उनले भने, ‘त्यसका लागि २०७३ सालमा विद्युत् उत्पादन कम्पनी लिमिटेडले जिम्मा लिइसकेको छ ।’

Featured