देश मनोरंजन

हिमाली ‘सहायक श्रीमान्’

काठमाडौं, मंसिर २६–निर्देशक गणेश पाण्डेले ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) नामक नयाँ डकुमेन्ट्री फिल्म निर्माण गरेका छन् । बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म राष्ट्रिय सभागृहमा आयोजित काठमाडौं अन्तर्रा्ष्ट्रिय चलचित्र महोत्सवमा शुक्रबार दिउँसो १ बजे रिलिज हुँदैछ । कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको यो डकुमेन्ट्री बहुपति प्रथामा आधारित छ । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् ।

‘हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । उनीहरू माया र काम मात्रै बाँड्दैनन्, श्रीमती पनि एकआपसमा बाँड्छन् । जुन हाम्रो पुस्ताका लागि अत्यन्तै अनौठो हो । एउटै श्रीमतीसँग रमाइरहेका र विद्रोह गरेका तीनवटा परिवारको कथामा हामीले यो डकुमेन्ट्री निर्माण गरेका छौं,’ निर्देशक पाण्डेले भने ।

‘करिब ४ वर्षको छायांकन र रिसर्चबाट यो डकुमेन्ट्री निर्माण भएको पाण्डे बताउँछन् । यो वृत्तचित्रको लेखन निर्देशन पाण्डेले नै गरेका हुन् । शारदा गैरेले निर्माण गरेको डकुमेन्ट्रीको प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल छन् । यसैगरी, ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र राधेश्याम तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गरेका हुन् । संगीत संयोजन संगीतकार जुगल डंगोलले गरेका छन् ।

Featured