देश

७ किलो चरेससहित चार जना पक्राउ

धनगढी, मंसिर २६–प्रहरीले ७ किलो चरेससहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती र प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआईटीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले बिहीबार बिहान कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा कोठामा लुकाएर राखेको अवस्थामा ७ किलो चरेससहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दार्चुला मार्मा गाउँपालिका–१ घर भई हाल कैलालीको गोदावरी नगरपालिका –२ बस्ने ३२ वर्षीय जसमलसिंह ठगुन्ना, दार्चुला मार्मा गाउँपालिका–१ का २७ वर्षीय जीवनसिंह ठगुन्ना, सोही ठाउँका २५ वर्षीय उकिलसिंह ठगुन्ना र अपी हिमाल गाउँपालिका–४ का २४ वर्षीय हिक्मतसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चरेससहित उनीहरूलाई जसमलसिंह ठगुन्नाको कोठाबाट पक्राउ गरेको कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए । बस्नेतका अनुसार जसमलसिंहको कोठाभित्र रहेको काठको पलङ (खटिया) मुनि भुइँमा झोलामा लुकाई राखेको चरेस फेला हो । पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेर अनुसन्धान भइरहेको छ । अनुसन्धानपश्चात् उनीहरूलाई सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरिने प्रवक्ता बस्नेतले बताए ।

Featured