देश

अन्तराष्ट्रिय बालनाटक महोत्सवमा ‘करेसा कन्सर्ट’

काठमाडौं, मंसिर २६–‘कोलकाता अन्तराष्ट्रिय बालनाटक महोत्सव’मा नेपाली बालनाटक ‘करेसा कन्सर्ट’को पहिलो मञ्चन भएको छ । भारतको कोलकतास्थित इन्टर्न जोनल कल्चरल सेन्टरको पूर्वसी अडोटोरियममा विभिन्न देशको नाटकसँगै बुधबार करेसा कन्सर्ट पनि मञ्चन भएको हो । बुधबार नेपालसँगै रसिया, इरान र श्रीलंकाको नाटक पनि मञ्च भएको थियो ।

महोत्सवमा ११ देशका १७ नाटक मञ्चन गरिएको थियो । महोत्सवमा चीन, मेक्सिको, मलेसिया, हंगेरी, बंगलादेश, प्यालेस्टाइन र भारतका नाटकहरु पनि मञ्चन हुँदैछन् । राराहिलकै विद्यार्थीहरुले अभिनय गरेको नाटक ‘करेसा कन्सर्ट’मा करेसाबारीका तरकारी पात्रहरुको कथा छ । नाटकमा विभिन्न पात्रमार्फत् तरकारीको महत्व र विशेषतालाई नाटकीकरण गर्दै मानव स्वास्थ्यमा त्यसको आवश्यकताबारे उल्लेख गरिएको छ । नाटकले नेपाली समाजको चित्रण गर्दै सामाजिक अस्तित्व, भेदभाव र अन्यौलतालाई चित्रण गरेको छ ।

कीर्तिपुरस्थित राराहिल स्कुलको प्रस्तुति र थिएटर मल नेपालको ‘थिएटर सेन्टर फर चिल्ड्रेन’ले संयोजन गरेको करेसा कन्सर्टको लेखन, परिकल्पना तथा निर्देशन केदार श्रेष्ठले गरेका हुन् । नाटकमा नसना महर्जन, सविना सेन, सुधा खनाल, मञ्जु महर्जन, कविना रोक्का, ओसिन राई, सुधा खनाल, सुजाता भट्ट र लकस महर्जनले अभिनय गरेका छन् । रंगकर्मी केदार श्रेष्ठले ५ देखि १५ वर्ष उमेर समूहका लागि लक्षित गरेर यो नाटक तयार पारेका हुन् । नाट्य टोली शनिबार स्वदेश आइपुग्दैछ ।

Featured