विदेश

न्याय माग्दै गाईतर्फबाट अदालतमा मुद्दा

एजेन्सी, मंसिर २६–भारतमा अनेक घटना हुन्छन् । भौगोलिक हिसाबले मात्र ठूलो नभई यहाँ जनसंख्या र विभिन्न भाषा र जातजातिका मानिसको बसोबास । दैनिक भारतमा कुनै न कुनै अचम्मित पार्ने घटना भइरहेका छन् । हालै भारतमा भएको एक घटनाले सबैको ध्यान आकर्षित गरेको छ । उत्तर प्रदेशस्थित लखिमपुरको खिरीमा गाईसँग जोडिएको अनौठो खबर सार्वजनिक भएको छ । यहाँका यत्रतत्र घुमिरहेका छाडा पशुचौपायको तर्फबाट न्यायको माग गर्दै अदालतमा रिट दायर भएको छ ।

छाडा पशुचौपाया र संरक्षणमा नरहेका गाईको पक्षबाट सहरको एक कान्जिहाउसविरुद्ध त्यहाँको सीजीएम अदालतमा मुद्दा दायर भएको छ । अदालतमा निराश्रित गाईरगोरुतर्फबाट सन्तोस त्रिपाठी नामका एक स्थानीय युवकले मुद्दा दायर गरेका हुन् । उनले भनेका छन्, ‘गाईहरूको तर्फबाट न्यायका लागि अदालतमा रिट दिएको हुँ ।’ उनले गोकर्णनाथ गाईवस्तु र अनय पशुका लागि कान्जिहाउस भएको तर त्यो कान्जिहाउस भत्काएर व्यावसायिक कम्प्लेक्स बनाउन लागेको बताएका छन् । गाईको संरक्षणका लागि तुरुन्त कान्जिहाउस भत्काउने कार्य रोक्न आदेश दिन माग गरेका छन् । करिब ५० करोड मूल्यको कान्जि हाउस हडप्न राजस्व अभिलेख कार्यालयको मिलेमतो भएको आरोप लगाएका छन् ।

उनले त्यहाँका प्रमुख जिल्ला अधिकारी पनि यस काण्डमा मिलेको बताए । पटक–पटक प्रमुख जिल्ला अधिकारीसमक्ष जाँदा पनि कुनै सुनुवाइ नभएपछि अदालतको ढोका ढकढक्याउनुपरेको रिटमा उनले बताएका छन् । उनले डीएम खिरी, एडीएम गोला, जिल्ला पञ्चायत अध्यक्ष र पालिका अध्यक्षसहित सात जनालाई विपक्षी बनाउँदै अदालतमा रिट दायर गरेका हुन् । यस मामलामा अदालतले १८ डिसेम्भरमा सुनुवाइ गर्ने बताएको छ ।

Featured