देश

विद्युत प्राधिकरणद्वारा सञ्चालित आयोजनाको वित्तीय प्रगति १०२ प्रतिशत

काठमाडौं, मंसिर २६–नेपाल विद्युत प्राधिकरणद्वारा सञ्चालित विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरूको वित्तीय प्रगति १०१.५२ प्रतिशत रहेको छ । प्राधिकरणद्वारा सञ्चालित आयोजनाहरूले चालू आर्थिक वर्ष (आव) २०७६र७७ को पहिलो चार महिना साउन, भदौ, असोज र कात्तिकमा १३ अर्ब ११ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएकोमा १३ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको हो । ती आयोजनाहरूको समग्रमा भौतिक प्रगति लक्ष्यको ८६ प्रतिशत रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । कार्यकारी निर्देशक घिसिङले ठेक्का सम्झौता भएका आयोजनाहरूलाई दिइएको अग्रिम भुक्तानी र बहुवर्षीय ठेक्का लागेका आयोजनाहरूको गत सालको बाँकी भुत्तानीले गर्दा वित्तीय प्रगति बढी भएको जानकारी दिए ।

‘वन क्षेत्रको जग्गा प्रयोगमा रहेको प्रक्रियागत झन्जटका कारण सिर्जित समस्या, जग्गा अधिग्रहणको समस्या, प्रसारण तथा वितरण लाइनमा भइरहेको अवरोधका वावजुद आवको पहिलो चार महिनामा लक्ष्यभन्दा बढी वित्तीय र भौतिक प्रगति गर्न सफल भएको छौं,’ उनले भने । वनक्षेत्रको जग्गा प्रयोग, जग्गा अधिग्रहणलगायतमा रहेका समस्या समाधान गर्न सबै क्षेत्रबाट तदारुकताका साथ सहयोग भएमा आवको बाँकी अवधिमा निर्माणाधीन आयोजनाको प्रगति अझै बढ्ने घिसिङले बताए ।

प्राधिकरणले चालू आवमा नेपाल सरकारको स्रोतबाट १० अर्ब ३१ करोड रुपैयाँ र वैदेशिक ऋण तथा अनुदानबाट ४५ अर्ब ३० करोड गरी ५५ अर्ब ६१ करोड रुपैयाँ बजेट पाएको छ । सरकारको स्रोतबाट दिइने रकम कम र वैदेशिक सहायताबाट प्राप्त रकमको हिस्सा बढी हुँदा बजेट कार्यान्वयनमा जटिलता आएको घिसिङले बताए ।

विभिन्न कारणले रुग्ण बनेका ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजना चालू आवको पहिलो चौमासिकमा निर्माण सम्पन्न भई ७४ मेगावाट विद्युत् उत्पादन सुरु भएको छ । यसैगरी, रुग्ण बनेको काबेली कोरिडोर १३२ केभी प्रसारण लाइन पनि यही अवधिमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।

उत्पादनतर्फ ४ अर्ब ४२ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएकोमा ३ अर्ब ३३ करोड रुपैयाँ खर्च भएको छ । जुन लक्ष्यको तुलनामा खर्च र भौतिक प्रगति क्रमशः ७५.४६ र ७६.६३ प्रतिशत हो । उत्पादनतर्फ जलविद्युत् आयोजनाको निर्माण, सर्वेक्षणलगायतका कार्य पर्दछन् । यस अवधिमा प्राधिकरणका र निजी क्षेत्रका ६ आयोजनाको ७३.५ गरी १४७.५ मेगावाट विद्युत् प्रणालीमा थप भएको छ ।

प्राधिकरणका अनुसार प्रसारण लाइनतर्फ ६ आयोजनाको १ सय ९३ सर्किट किलोमिटर लाइन निर्माण सम्पन्न भएको छ । यस अवधिमा सातवटा नयाँ सबस्टेसन निर्माण सम्पन्न भएका छन् भने ८ वटाको स्तरोन्नति गरिएको छ । विद्युत् प्रसारण र वितरण लाइनतर्फ क्रमशः ७ अर्ब ८० करोड रुपैयाँ र १ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरिएकोमा पहिलो चौमासिकमा क्रमशः ३ अर्ब ४६ करोड रुपैयाँ र ४ अर्ब ८३ करोड रुपैयाँ खर्च भएको छ ।

प्रसारण लाइनतर्फको खर्च र भौतिक प्रतिशत क्रमशः ४४.७४ र ५३ छ । वितरण लाइनतर्फको खर्च र भौतिक प्रगति क्रमशः २५३.५८ र २५४.७० प्रतिशत छ । प्रसारणतर्फ ४००, २२० र १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन आयोजनाहरू निर्माणाधीन छन् । प्रसारण लाइन बाटोको दायाँबायाँमा पर्ने वनक्षेत्रको जग्गा प्रयोग र निजी जग्गाको क्षतिपूर्तिको समस्या, रुट परिवर्तन गर्न माग गर्दै स्थानीयको अवरोध, ऐलानी जग्गाको उपयोग गर्दा मुआब्जा दिनेरनदिने नीतिगत अन्योलतालगायत प्रसारण लाइन आयोजना निर्माण व्यहोरिरहेका साझा समस्या रहेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे । उनले सबै आयोजना यस्तै समस्याले जेलिएको जानकारी दिए ।

‘जग्गा अधिग्रहणका लागि प्रारम्भिक अधिकृत तोक्न पनि मन्त्रिपरिषद् लैजानुपर्ने अवस्था छ, यसबाट जग्गा अधिग्रहणमा समस्या उत्पन्न भएको छ, समस्यालाई समाधान गर्न सम्बन्धित निकायबाट सहजीकरणको अवश्यकता छ,’ उनले भने । जलविद्युत् आयोजनाको अध्ययनका लागि ४३ करोड २२ लाख रुपैयाँ विनियोजन भएकोमा २१ करोड ३७ लाख रुपैयाँ खर्च भएको छ । जसको खर्च र भौतिक प्रगति क्रमशः ४९.४३ र ५५.९२ प्रतिशत छ । प्राधिकरणले १ हजार ६१ मेगावाटको माथिल्लो अरुण, दूधकोसी, माथिल्लो मोदी ए, तामाकोसी पाँचौं जलविद्युत् आयोजनाको विस्तृत अध्ययन गरिरहेको छ ।

सहायक कम्पनीमार्फत ४ सय ५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी र १ सय ४० मेगावाटको तनहुँ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । माथिल्लो तामाकोसीले यस अवधिमा २ अर्ब ४६ करोड रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य तय गरेकोमा १ अर्ब ७६ करोड रुपैयाँ खर्च गरेको छ । आयोजनाको यस अवधिको खर्च र सुरुबाटको भौतिक प्रगति प्रतिशत क्रमशः ७१.२५ र ९९.३० छ ।

तनहुँ जलविद्युत आयोजनाले ६५ करोड ७५ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेकोमा ४२ करोड ८० लाख रुपैयाँ खर्च भएको छ । आयोजनाको यसअवधिको वित्तीय र सुरुदेखिको भौतिक क्रमशस् ६५.१० र १९.२० प्रतिशत छ । चालू आवमा विद्युत चुहावट १४.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको प्राधिकरणले १४.१६ प्रतिशतमा झारेको छ । यस आवमा ४० जिल्लालाई पूर्ण विद्युतीकरण भएको घोषणा गर्ने लक्ष्य राखेको प्राधिकरणले ४ महिनामा काठमाडौं, भक्तपुर, पर्वत र स्याङ्जामा पूर्ण विद्युतीकरण गरेको छ ।

Featured