देश

जंगलका फिरन्ते राउटेलाई कुल पूजाको चटारो

सुर्खेत, मंसिर २६–जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायले शनिबार धुमधामसँग कुल देवता मस्टोको पूजा गर्दै छन् । पूजाको तयारीका लागि बस्तीदेखि सहर(बजारसम्म राउटेको व्यस्तता बढेको छ । अगुवा चामल र खसीको जोहो गर्न वीरेन्द्रनगर आइपुगेका छन् भने महिला बस्तीमै बसेर बाँकी तयारीमा जुटेका छन् । राउटेले खस समुदायझै कुल देवताका रुपमा भुयाँर र दारेमष्टोको पूजा गर्ने गर्छन् । यो समुदायले मस्टो पूजा, साउने र माघे संक्रान्ति पर्वलाई विशेष धुमधामका साथ मनाउने गर्छ ।

राउटे अगुवा हरिबहादुर शाहीले खसी र चामलका लागि वीरेन्द्रनगर आइपुगेको बताए । ‘भत्ताले नपुग्ने भएपछि प्रदेश सरकारसँग खसी र चामल किनिदिन माग गरेका छौँ,’ उनले भने, ‘मन्त्रीज्यूले तपाईहरुको नाममा बजेट छुट्याएको छ, त्यही बजेटबाट केही रकमको व्यवस्था गरौँला भन्नुभएको छ ।’ हरिबहादुरसहित तीन जनाले बुधबार प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावललाई भेटेर सहयोग मागेका थिए ।

राउटे अगुवाले आफूहरुका लागि ४६ खसी(बोका आवश्यक पर्ने बताएका छन् । ‘प्रति परिवार एउटा खसी(बोका चाहिने हुँदा आजै बन्दोबस्त मिलाइदिन मन्त्रीलाई आग्रह गरेका छौँ,’ अर्का अगुवा प्रकाश शाहीले भने, ‘मन्त्रीज्यूले भोको बस्नु पर्दैन भन्नुभएको छ ।’ हाल दैलेखको गुराँस गाउँपालिकामा ४६ घरधुरी राउटे बस्दै आएका छन् । सुरुमा राउटे अगुवाको टोली गुराँस गाउँपालिका कार्यालय पुगेको थियो । गाउँपालिकाले बजेट नभएको बताएपछि सिधै बस चढेर उनीहरु वीरेन्द्रनगरस्थित सामाजिक विकास मन्त्रालय आइपुगेका थिए । राउटे अगुवाले काठमाडौँमा भेट हुँदा उपप्रधानमन्त्री ईश्वर पोखरेलले खसी पठाउने आश्वासन दिएको सम्झिए । राउटे युवा प्रकाशले भने, ‘जंगलमा पहिलेजस्तो कन्दमूल, गुना बाँदर पाइँदैन, त्यही भएर मासुका लागि पनि खसीकै भर पर्नुपर्छ ।’ सरकारले दिने मासिक भत्ता रकमले चामल, नुन, तेल र तरकारी किन्नमै खर्च हुने उनको भनाइ थियो ।

‘सरकारले भत्ता दिएका छौँ, पुग्छ नि भन्छ, यता हामीले सबै किनेर खानुपर्छ, पहिलेजस्तो गाउँमा मागेर पाइँदैन, हामीले बनाएका कोसी, मुधुस, आरी पनि कसैले किन्दैन,’ अगुवा हरिबहादुरले माग्दै हिँड्नुको बाध्यता यसरी सुनाए । प्रदेश सरकारले समयमै रकम नदिए यसपालिको मस्टो पूजा पनि खुल्लो हुने होकि भन्ने चिन्ता बढेको छ । सरकारी सहयोगको पर्खाइमा रहेका राउटे अगुवालाई भोलिसम्म खसीबोका र चामल बस्तीमा र्पुयाइसक्न मुखियाले आदेश दिएका छन् ।

ठकुरी वंशका राउटेमा रास्कोटी, कल्याल र सोवंशी थर छन् । नामका पछाडि सबैले ‘शाही’ भन्ने गर्छन् । बोल्ने बेग्लै भाषा छ, जसलाई ‘खाम्सी’ भनिन्छ । धर्म(संस्कृति, जातपात हिन्दु सम्प्रदायसँग मेल खान्छ । राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले फिरन्ते वन्य जीवनमा बाँचिरहेका राउटे आधुनिक जीवनशैलीबाट टाढा रहेकाले अस्तित्व संकटमा पर्न थालेको बताए । ‘राउटेलाई आफ्नो संस्कार, धर्म(संस्कृति, भेषभूषा रहनसहन नै प्यारो लाग्छ, त्यही भएर स्थायी रुपमा बसोबास, पशुपालन र खेतीबालीप्रति रुचि छैन, माग्नु त उनीहरुको बाध्यता बनिसक्यो,’ उनले भने । (रासस)

Featured