देश

टोलटोल पुगेर जनताका समस्या सुन्दै जनप्रतिनिधि

काठमाडौं, मंसिर २६–जनताका साझा समस्या समाधानको प्रयासमा काठमाडौं वडा नम्बर ४ ले ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमअन्तर्गत वडामा रहेका १० टोलका जनतमाझ पुगेर प्रदेशसभा सदस्य र वडाका प्रतिनिधिले साझा समस्या बुझ्नुका साथै समाधानको प्रयास गर्न थालेका छन् । १७ मंसिरबाट सुरु भएको कार्यक्रम अहिलेसम्म चार ठाउँमा सम्पन्न भएको काठमाडौं–४ का वडाध्यक्ष मोहन विष्टले जानकारी दिए । उनका अनुसार माथिल्लो बालुटार, टुसाल, तल्लो बालुवाटार र चुनदेवीमा कार्यक्रम गरी जनताका समस्या समाधानका लागि प्रक्रिया अघि बढाइएको छ ।

यो कार्यक्रम काठमाडौं ४ अन्तर्गतका प्रगति टोल, दीपज्योति–दीपसागर, गैरीगाउँ विशालनगर, चण्डोल, अन्नपूर्ण मार्ग र धन्यन्तरी आनन्दनगर मार्गमा पनि गरिने वडा अध्यक्ष विष्टले बताए । जनप्रतिनिधिसमक्ष जनताले मेलम्चीको पानी, ढल व्यवस्थापन, चोरी नियन्त्रणका लागि सीसी क्यामेरा जडान, कुकुरको उचित व्यवस्थापन, सरसफाइ, वडास्तरीय क्लिनिकलगायतमा ध्यान दिन सुझाव दिए ।

टोलवासीका समस्या समाधानमा काठमाडौं–५ (१)का सांसद नारायण सिलवाल पनि सक्रिय भएर लागेका छन् । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका सिलवालले ४ नम्बर वडाबाट सुरु भएको कार्यक्रमलाई अन्य वडामा पनि विस्तार गरिने बताए । बिहीबार चुनदेवीमा आयोजित कार्यक्रममा उनले भने, ‘अनेक चुनौतीका बाबजुद स्थानीय तहका जनप्रतिनिधिले काम गरिरहेका छन्, केही कमजोरी भए भने जनताले खबरदारी गर्नुपर्छ । हामी सबै एकजुट भएर लाग्यौं भने नमुना विकास हामीभन्दा धेरै टाढा छैन ।’

उनले स्थानीय विकासका योजनामा प्रत्यक्ष संलग्नता जनाइ सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । ‘वडा नम्बर ४ बाट हामीले थालेको कार्यक्रमलाई फलदायी र उपलब्धिमूलक बनाउन सक्यौं भने अन्य वडा र स्थानीय तहले पनि हाम्रो कामको अनुशरण गर्नेछन्,’ प्रदेश सांसद सिलवालले भने, ‘अनुकरणयोग्य बनाउनका लागि जनता र जनप्रतिनिधिबीचको एकता, सहकार्य र समन्वय प्रभावकारी हुनुपर्छ ।’

वडा नम्बर ४ पार्क र हरियालीपूर्ण रहेको, पूर्वाधारहरुको निर्माण र स्तरोन्नति गर्ने काम जारी रहेको, काठमाडौंका अन्य वडाभन्दा सफा रहेको सांसद सिलवालले बताए । काठमाडौं ४ ले अतिक्रमित सार्वजनिक जग्गा वडामातहत ल्याइ झण्डै एक दर्जन पार्क निर्माण गरेको छ । प्रदेश सांसद सिलवालको सक्रियतामा गत वर्ष पनि १२ टोलमा यस्तो कार्यक्रम गरिएको थियो ।

Featured