देश

लैंगिक हिंसाविरूद्धको १६ दिने अभियानः दैनिक चार जनाभन्दा बढी पीडित

काठमाडौं, मंसिर २६–लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान सञ्चालित भइरहेका यस्तै हिंसामा दैनिक चार जनाभन्दा बढी पीडित भएको तथ्यांकसहितको प्रतिवेदन सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मंसिर ९ गतेदेखि २४ गतेसम्म प्रकाशित समाचारका आधारमा तयार पारेको तथ्यांकसहितको प्रतिवेदनमा यस्तो तथ्यांक सार्वजनिक भएको हो । यो तथ्यांक देशभरिकै हो ।

अभियान सञ्चालन भएकै बेला दैनिक चारवटा हिंसाका घटना भएको भन्दै इन्सेकले अन्य समयमा हिंसाको रूप भयावह हुनसक्ने बताएको छ । इन्सेकमा भएको अभिलेखका आधारमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको अवधिमा बलात्कारका घटनामा नौ जना महिलासहित २७ जना पीडित भएको जनाइएको छ । त्यसैगरी यौन दुव्र्यवहारका घटनामा चार वर्षीया बालिकासहित १० जना र बलात्कार प्रयासका घटनामा ६ जना महिला पीडित भएका छन् ।

यो अवधिमा बेचबिखन प्रयासका घटनामा तीन बालिकासहित पाँच जना, बेचविखन घटनामा तीन जना बालिका र कथित बोक्सीको आरोपमा दुई जना महिला पीडित भएको र परिवारकै सदस्यबाट तीन जना महिला र एक बालिकाको हत्या भएको उल्लेख छ । ‘अभिलेखित सबै घटनाको अनुसन्धान प्रक्रिया जारी छ । १६ दिने अभियान चलिरहँदा अछाममा एक जना महिलाको छाउगोठमा मृत्यु भयो । छोराले आमालाई कुटपिट गरी घाइते बनाएकोलगायतका घरेलु हिंसाका घटना इन्सेकको अभिलेखमा छ’, प्रतिवेदनमा उल्लेख छ । घरेलु हिंसाका घटनाको तथ्यांक यो प्रतिवेदनमा समावेश नगरिए पनि त्यस्ता घटना पनि अभिलेखमा राखिएको इन्सेकले जनाएको छ ।

Featured