खेलकुद विदेश

च्याम्पियन्स लिगः बायर्नद्वारा टोटनह्याम ३–१ ले पराजित

एजेन्सी २६ मंसिर–च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बायर्न म्युनिखले जोसे मोरिन्होको टोटनह्यामलाई ३–१ ले हराएको छ । जोसे टोटनह्यामको प्रशिक्षक बनेर आएपछिका पाँच खेलमा उसको यो दोस्रो हार हो । च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा समूह बीमा रहेका इंग्लिस क्लब टोटनह्याम र जर्मन क्लब बार्यन म्युनिख प्रतिस्पर्धा गरेका हुन् ।

घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिखले पहिलो हाफमा दुई गोल गरेर १ गोल खाएको थियो भने दोस्रो हाफमा थप एक गोल थप्यो । खेलको १४ औं मिनेटमा किङ्गस्ली कोम्यानले गोल गर्दै बार्यन म्युनिखलाई सुरुवाती अग्रता दिलाएका थिए भने २० औं मिनेटमा टोटनह्यामबाट पहिलो पटक खेलेका रायन सेसिग्नोनले बराबरी गोल फर्काए । तर ४५ औं मिनेटमा थोमस मुलरले बार्यनका लागि गोल गर्दै पुनः अग्रता दिलाए भने ६४ औं मिनेटमा फिलिप कोन्टिन्होले गोल गर्दै बायर्नलाई जित दिलाए ।

दुवै टिमले यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरेका थिए । यो हारले टोटनह्यामले समूह विजेता बार्यन म्युनिखसँग अंक दूरी घटाउने मौका गुमायो । बार्यनले समूह चरणामा सबै खेलमा जित निकाल्दै १८ अंक जोड्यो भने भने टोटनह्यामको १० अंक भयो । बार्यनले यसअघि उसकै मैदानमा टोटनह्यामलाई ७–२ ले पराजित गरेको थियो । समूह बी अन्तर्गत बुधबार राति नै भएको अर्को खेलमा ओलम्पिकासले रेड स्टार बेलग्राडेलाई १–० ले पराजित गरेको छ ।

Featured