देश

जुम्लाका २१ बस्ती छुइगोठमुक्त

जुम्ला, मंसिर २६–अहिलेसम्म जुम्लाका २१ बस्ती छुइगोठमुक्त घोषणा भएका छन् । जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी निकायले गरेको चेतना अभिवृद्धिका कारण २१ गाउँबस्ती छुइगोठमुक्त घोषणा भएका हुन् । सर्वोदय नेपाल, किर्डाक नेपाल जुम्ला, आत्मसम्मानका लागि सहकार्य (क्याड) नेपाल जुम्ला, एक्सन वक्सलगायतका संघसंस्थाको साझेदारीमा र विभिन्न स्थानीय तहको आयोजनामा २१ गाउँबस्ती छुइगोठमुक्त घोषणा भएको बताइएको छ ।

गैरसरकारी संस्था सर्वोदय नेपाल जुम्लाका अनुसार २१ बस्तीका एक हजार ७४० घरधुरी छुइगोठमुक्त घोषणा भएका छन् । जिल्लाका आठ हजार ७८९ ले छुइ नमान्ने गरेको सर्वोदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्रीले बताए । छुइगोठमुक्त घोषणा अभियानलाई अझ बढी व्यवहारिक र प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै उनले महिलामाथिको अत्याचार अन्त्यका लागि स्वयं महिला नै एकजुट भएकाले विस्तारै जुम्लामा छुइप्रथा न्यूनिकरण हुँदै जाने बताए ।

लैंगिक समानता, महिलाको कार्यबोझ न्यूनिकरण र महिलामा भएको विभेद छाउपडी प्रथा न्यूनिकरण विषयमा सर्वोदय नेपाल जुम्लाले काम गर्दै आएको छ । घरदैलो, सामूहिक प्रतिबद्धता, हस्ताक्षर, वडापालिका र गाउँपालिकास्तरीय समन्वयात्मक बैठक र अनुगमनको प्रतिवेदनका आधारमा छुइगोठमुत्त घोषणा कार्यक्रम गरिएको कार्यकारी निर्देशक खत्रीले जानकारी दिए । पाँच वर्षदेखि इटालियन फाउन्डेशन र सर्वोदय नेपाल ललितपुरको आर्थिक सहयोगमा यस संस्थाले महिला सशक्तीकरण तथा जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गरिरहेको उनले जनाए ।(रासस)

Featured