देश

आज धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा, राष्ट्रपतिद्वारा शुभकामना

काठमाडौं, मंसिर २६–मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा मनाइँदै छ ।धान्य पूर्णिमाको अवसरमा आज धानको विधिपूर्वक पूजा आजा एवं दान गरिँदै छ । धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, चम्पादेवीलगायत स्थानमा मेलासमेत लाग्ने गर्छ । त्यस्तै, नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हिः पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ ।

किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बुहरूले चासोक तङ्नाम भन्छन् । बाली लगाउने बेलामा भने किरात जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ । भूमिपूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुषहरू जातीय भेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् ।

राष्ट्रपतिको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको उद्यौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेकी छन् । ‘नेपाल विभिन्न जातजाति र समुदायहरुको साझा फूलबारीका रुपमा रहेको छ, उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नका लागि महत्वपूर्ण योगदान गरेका छन्’, राष्ट्रपति कार्यालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नतिः प्रचण्ड
नेकपाका अध्यक्ष प्रचण्डले सबै जाति, क्षेत्र, लिंक, समुदायको पहिचानसहितको समृद्धिबाटै राष्ट्रको उन्नति हुने बताएका छन् । उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हिःको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रचण्डले यस्तो बताएका हुन् । साथै उनले सामाजिक न्यायसहितको आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार पार्न पार्टी र सरकार अग्रसर रहेको दाबी गरेका छन् ।

‘नेपालका विभिन्न समुदायहरुले मनाउने सांस्कृतिक पर्वहरु हामी नेपालीका पहिचान हुन्’, प्रचण्डले सन्देशमा भनेका छन्, ‘सबै जाति, क्षेत्र, लिंग, समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति हो । मुलुकको समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो योगदान रहँदै आएको छ ।’

Featured