देश

दुर्गन्धीत बन्दै बाजुराको कोल्टीबजार

बाजुरा मंसिर २५–जिल्ला सदरमुकाम मार्तडीपछिको दोस्रो ठूलो व्यापारिक केन्द्र कोल्टी दुर्ग्न्धित बन्दै गएको छ । बजार व्यवस्थापनमा कसैको चासो नहुँदा बजार दुर्ग्न्धित बन्दै गएको हो । बजारमा ढलको पानीले सुक्खायाममा पनि कोल्टीबजार हिलाम्मे बनेको छ । बजार अव्यवस्थित हुँदै जान थालेपछि सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।

स्थानीय तहले ढल निकासका लागि कुनै पहल नगरेको स्थानीयवासीको गुनासो छ । जिल्लामा एक मात्र विमानस्थलसमेत रहेको सो बजारको यो स्थितिले त्यहाँका जनतामा निराशा छाएको छ । कोल्टीका स्थानीयवासीले तीन वर्षदेखि बिजुली र दुई वर्षदेखि नियमित पानीको समस्या व्यहोर्नुपरेको व्यापारीको गुनासो छ । विमानस्थल समेत रहेको यो बजार जिल्लाकै पहिचान बनेको छ । हवाईजहाजबाट कोल्टीमा अवतरण गरेपछि देखिने फोहोरले सबैलाई दिक्क बनाउँछ । बजारवासीले हरेक हप्ता सरसफाइ गरे पनि साध्य नलागेपछि स्थानीय तहलाई गुहार माग्दा पनि कुनै वास्ता नगरेको व्यापारी सञ्जय रोकायाले गुनासो गरे ।

मुख्य बजारमा जताततै सवारी साधन पार्किङ हुँदा सर्वसाधारणका लागि हिँड्ने बाटोसमेत छैन । मार्तडी(कोल्टी सडकको मुख्य केन्द्रका रुपमा रहेको बूढीढनन्दा नगरपालिका-२ मा पर्ने कोल्टीबजारको अघदेखिनै खच्चर हिँड्ने सडक, त्यही सडकमा सवारी पार्किङले बजार झन् अव्यवस्थित बन्दै गएको छ । यस्तो हुँदा पनि स्थानीय सरकारले कुनै ध्यान नदिएको नागरिक अगुवा सर्पलाल गिरीले बताए । नगरपालिकासँग पटकपटक आग्रह गर्दा पनि ध्यान नदिएको गिरीको भनाइ छ । नगरपालिकाले त्यसका लागि आवश्यक पर्ने ठूलो बजेटको व्यवस्थापनमा जुटेको आश्वासन दिएको छ । कोल्टी बजारलाई व्यवस्थित गर्न आवश्यक पहल भइरहेको र केन्द्र सरकारलाई माग गरेकाले केही महिनामै यसको समाधान निस्कने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदत्त न्यौपानेले बताए । (रासस)

Featured