देश

अपर नौगडगाड आयोजनाको व्यावसायिक उत्पादन सफल

काठमाडौं, मंसिर २५–गत कात्तिकदेखि राष्ट्रिय प्रसारण लाईनमा जोडिएको माथिल्लो नौगड गाड आयोजनाको व्यवसायिक उत्पादन सफल भएको छ । आयोजनाको निर्माणकर्ता अपी पावर कम्पनीले व्यवसायिक उत्पादन सफल भएको जनाएको छ । ८ मेगावाट क्षमताको सो आयोजना दार्चुला जिल्लामा कम्पनीको दोस्रो आयोजन हो । यसअघि कम्पनीले २०७२ भदौमा ८.५ मेगावाट क्षमताको नौगड गाड जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरिसकेको छ ।

कम्पनीका अनुसार माथिल्लो नौगड गाड आयोजनाले वार्षिक ४.८७ करोड किलोवाट उर्जा उत्पादन गर्नेछ । विद्युत विक्रीबाट कम्पनीले पहिलो वर्ष २७.४८ करोड रुपैयाँ आर्जनको लक्ष्य लिएको छ । उत्पादित विद्युत अत्तरिया(बलाच १३२ केभी ट्रान्समिसन लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको कम्पनीले जनाएको छ ।

आयोजना निर्माणको लागि नेपाल एसबीआई बैंकको अगुवाइमा प्रभु बैंक लिमिटेड, कैलाश विकास बैंक तथा युनाइटेड फाईनान्स कम्पनीले सहवित्तीयकरण अन्तर्गत १२० करोड कर्जा उपलब्ध गराएको छ । कुल लागत १६० करोडमा आयोजना निर्माण सम्पन्न भएको हो । आयोजनामा दुई सेट टर्बाइन तथा जेनरेटर लगायतका उपकरणहहरु जडान गरिएको छ । अब कम्पनीले दार्चुलामै ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । यसका लागि आवश्यक प्रक्रियाहरु अगाडि बढिसकेको कम्पनीले जनाएको छ।

Featured