देश

रौतहटमा पहिचान नखुलेका दुई पुरुषको शव फेला

जनकपुर, मंसिर २५–रौतहटको चन्द्रपुर नगरपालिकामा दुुई जना पुरुषको शव फेला परेको छ । अलग अलग स्थानमा मृत अवस्थामा भेटिएका दुवै शवको पहिचान हुन सकेको छैन । चन्द्रनिगाहपुर बजारमा एक जना र राजमार्गमा एक जना गरी दुई जनाको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । चन्द्रनिगाहपुरको बजार क्षेत्रमा भेटिएको अन्दाजी ३२ वर्षीय पुरुषको शव दुर्घटनामा परेको जस्तो देखिएको छ । रातिको समयमा कुनै सवारीसाधनले ठक्कर दिएपछि उक्त पुरुषको घटनास्थलमै मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यसैगरी, राजमार्गमा भेटिएको शव भने मागेर खाने व्यक्तिको हुन सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ । शव पहिचानका लागि अनुसन्धान भइरहेको र दुवै जनाको शवलाई चन्द्रनिगाहपुरस्थित अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Featured