देश

धर्मसंस्कृति जोगाउन कर्णाली तटमा गुरुकुल शिक्षा

बाजुरा, मंसिर २५–कर्णाली नदीको नीलो र कञ्चन पानीको रफ्तारबाट आएको मंसिरको सिरेटोसँग जुझ्दै कपाल खौरेर कुनै कर्मका लागि बसेकाहरूजस्तै १६ कलिला बालबालिका लाइनमा छन् । शिरमा ढाका टोपी, घाँटीमा पहेँलो गम्छा, सेतो रङको भोटोमाथि रातो रङको चिटिक्क स्टकोट र रातो धोतीजस्तो वस्त्रले आफ्नो कम्मरमुनिको आङ ढाकेर प्रार्थनामा लहरै उभिएका बालकहरू भजन गाइरहेका छन् । उनीहरू प्रत्येक दिन यसै गर्छन् । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–१, कर्णाली नदीको तट पिलुमा कर्णाली प्रदेशका हुम्ला, कालिकोट, मुगु र बाजुराका १६ जना बालबालिकाहरूलाई भेला पारेर एक टहरामा गुरुकुल शिक्षा यस वर्षबाट आरम्भ भएको छ । सोही गाउँका शिक्षक गंगाप्रसाद उपाध्यायको व्यक्तिगत लगानीमा विद्यापीठ सञ्चालन गरिएको हो ।

कालिकोटको रास्कोट नगरपालिका–४ का रमुनाथ उपाध्यायले आफ्नो १२ वर्षीय छोरा अर्जुन उपाध्यायलाई श्री वैदिक सनातन गुरुकुल विद्यापिठमा कक्षा ६ मा भर्ना गरेका छन् । ‘शिक्षा लिएर मात्र नहुने भयो, आफ्नो धर्म नै नजानेपछि कर्म गर्न असम्भव भएकाले मैले छोराको शिक्षा यही गुरुकुल विद्यापिठबाट गराउन थालेको हुँ,’ उनले भने । हुम्ला अदानचुली–४, लौठीका अनिरुद्ध सञ्ज्यालले समेत आफ्ना १३ वर्षीय छोरा बुद्धिसागरलाई सोही गुरुकुलमा भर्ना गरेका छन् । उनले भने, ‘गाउँमा पूजापाठ र कर्मकाण्ड गर्नेको संख्या घटेको छ । यहाँबाट छोरालाई हरिद्वार र काठमाडौं र्पुयाएर गुरुकुल शिक्षा दिन सकिएको थिएन, अब हामीलाई सहज भएको छ । अब सन्तानमा एक जना कर्मकाण्ड गर्ने छोरो बनाउन पाइने भयो ।’

उनी मात्र होइन, सो विद्यापिठमा आएका सबै अभिभावक आफ्नो संस्कृति र कर्म जोगाउने गुरुकुल विद्यापिठ स्थापना भएकोमा खुशी अत्यन्तै छन् । बाजुराको हिमाली गाउँपालिका–७, बाँधुका प्रयागराज उपाध्यायका छोरा प्रमोदराज उपाध्यायसमेत त्यहीँ पढ्ने गरेका छन् । सरकारी विद्यालयका विद्यार्थीभन्दा केही फरक र पहिरनले हिन्दु संस्कृति देखाउने र व्यावहारिक ज्ञानसमेत दिने गरी यो गुरुकुल सञ्चालन भएको छ ।

‘पछिल्लो समय नेपालमा धर्म परिवर्तनको लहड चलिरहेको बेला यस प्रकारका विद्यापिठहरूको सञ्चालनले आफ्नो धर्मको रक्षा गर्दै सांस्कृतिक शिक्षा प्रदान गर्ने सो विद्यापिठका संयोजक गंगाप्रसाद उपाध्यायले बताए । उनले भने, ‘धर्म परिवर्तनलाई निरुत्साहित पार्न र हिन्दु धर्मलाई रक्षा गर्नकै लागि यो विद्यापिठ सञ्चालन गरिएको हो ।’ ‘संरक्षक उपाध्यायले आफ्नो घरबाट खर्च लगाएर यसको सुरुवात गर्नुभएको छ । जिल्ला शिक्षा कार्यालय बाजुराको अनुमतिमा धार्मिक प्रकृतिको विद्यालयका रूपमा यसलाई दर्ता गरिएको छ । अहिले कहीँ कतै भौतिक संरचना नहुँदा धर्मशालाको एक टहरमा पढाइ सञ्चालन गरिरहेका छौं,’ जगन्नाथ गाउँपालिका–१ का लालबहादुर विष्टले बताए ।

‘यस शैक्षिक सत्रबाट सुरु भएको उक्त गुरुकुलमा हालसम्म गंगाप्रसादले ५ लाख ५२ हजार रकम खर्चिसकेका छन् । संस्कृत शिक्षा, संस्कृत ब्याकरण, वेद कर्मकाण्ड, जोतिष नैतिक शिक्षा र अन्य नेपाली पाठ्यक्रमअनुसारका विषय पढाइ हुन्छन्,’ प्राचार्य धर्मराज पाण्डेले बताए । अहिले सो विद्यालय दान दक्षिणा, चन्दा र व्यक्तिगत सहयोगबाट सञ्चालन भइरहेको छ । सो विद्यापिठमा तीन जना शिक्षकले १६ जना छात्रलाई अध्यापन गराइरहेका छन् । पछिल्लो समय सांस्कृतिक र धार्मिक रूपमा भइरहेको आक्रमण रोक्न र कर्मकाण्ड गर्न सक्ने जनशक्तिको उत्पादन गर्न यस गुरुकुल विद्यापिठले ठूलो योगदान गर्ने विश्वास अभिभावकले गरेका छन् ।

Featured