देश राजनीति

कांग्रेस बैठकका एजेण्डा: विभाग संख्या बढाउनेदेखि जागरण अभियान सार्नेसम्म

काठमाडौं, मंसिर २५–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भोलि (बिहीबार)बाट सुरू हुने बैठकमा केन्द्रीय विभागको संख्या बढाउनेदेखि राष्ट्रिय जागरण अभियानको मिति दुई महिना पछि सार्नेसम्मका विषयमा छलफल हुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको पदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकमा पेश हुने एजेण्डा निर्धारण गरेको हो । बैठकमा केन्द्रीय तहमा रहेका २८ वटा विभागको सख्या बढाउने विषयमा छलफल हुने बताइएको छ ।

स्रोतका अनुसार बैठकमा १४ मंसिरमा भएको उपनिर्वाचनको परिणामको विषयमा केन्द्रीय निर्वाचन समितिले पेश गर्ने प्रतिवेदन, केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठित पार्टीको भ्रातृ एवम् शुभेच्छुक संस्थाका विधानको सैद्धान्तिक आधार र मापदण्ड निर्धारण समितिको प्रतिवेदनमा समेत छलफल हुनेछ । बैठकमा पार्टीका भ्रातृ संस्थाको तदर्थ समिति गठन गरी ६ महिनाभित्रमा महाधिवेशन गर्न निर्देशन दिने र हिमाल–पहाड–तराई–मधेश राष्ट्रिय जागरण अभियानको समीक्षा र छलफल हुनेछ ।

त्यस्तै, आगामी १६ देखि २२ पुससम्म गर्ने भनिएको तेस्रो चरणको जागरण अभियानको मिति सारेर १६ देखि २२ माघ वा ४ देखि ११ चैतसम्म सार्ने विषयमा प्रस्ताव गरिएको छ । भ्रातृ संस्थाको गठनको पहिलो एजेण्डामा नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति गठन गर्ने र जीतजंग बस्नेत अध्यक्ष रहेको नेपाल तरुण दलको कार्यकाल ६ महिना थप गर्ने प्रस्तावलाई केन्द्रीय कार्यसमितिले पारित गर्नेछ ।

Featured