देश

निरन्तर उकालो लाग्दै नेप्से, पाँच कम्पनीको १० प्रतिशत मूल्यवृद्धि

काठमाडौं, मंसिर २५–सेयर बजार निरन्तर उकालो लाग्न थालेको छ । गत साताभरमा करिब २० अंकले बढेको बजारमा यो साता पनि हरियाली छाएको हो । बुधबार नेप्से परिसूचक र कारोबार रकम दुवैमा रौनक देखिएको छ । उत्पादनमूलकबाहेकका सबै समूह बढेपछि समग्र बजार परिसूचक नेप्से बुधबार १०.११ अंकले बढेर ११६१.४७ अंकमा पुगेको हो । उत्पादनमूलक समूह भने १.३५ प्रतिशतले घटेको छ ।

बुधबार सर्वा्धिक व्यापार समूह ५.९ प्रतिशतले बढेको छ । त्यस्तै लघुवित्त समूह ३.५७ तथा निर्जीवन बिमा २.६६ प्रतिशतले उकालो लागेका छन् । आज १७३ कम्पनीको २० लाख ४३ हजार ६०५ कित्ता सेयर ५५ करोड १३ लाख रुपैयाँबराबरमा किनबेच भएको छ ।

बुधबार नेपाल बंगलादेश बैंकको संस्थापक सेयर सबैभन्दा बढी ६ करोड ४१ लाख रुपैयाँबराबरको किनबेच भएको छ । त्यस्तै नेपाल बैंकको ३ करोड ६ लाखको कारोबार भयो । बुधबार पाँचवटा कम्पनीको सेयर १० प्रतिशत बढेको छ । नेपाल सेवा लघुवित्त, डिप्रोक्स लघुवित्त, युनाइटेड इन्स्योरेन्स, गणपति माइक्रोफाइनान्स र नयाँ नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

Featured