देश

२ लाख घूस रकमसहित नासु पक्राउ

सप्तरी, मंसिर २५–सप्तरीको राजविराजस्थित तैतरीगाछीबाट सेवाग्राहीसँग घूस लिँदै गर्दा अख्तियारको टोलीले मंगलबार साँझ एक नायब सुब्बालाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सप्तरीको महदेवा गाउँपालिका–६ का वडा सचिव तथा नासु नवोनाथ मिश्रलाई सेवाग्राहीबाट रू. २ लाख घूस लिएको आरोपमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी ज्ञानेन्द्रप्रसाद ढकालले जानकारी दिए ।

उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले राजविराजस्थित तैतरीगाछीको एउटा चिया पसलमा जन्मदर्ता प्रमाणपत्रसम्बन्धी कागजात बनाइदिने भन्दै सेवाग्राहीसँग नासु मिश्रले घूस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ । पक्राउ परेका मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी ल्याई आवश्यक अनुसन्धानको कार्य अगाडि बढाइएको सूचना अधिकारी ढकालले बताए ।

Featured