देश

दुई सातासम्म नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द

चितवन, मंसिर २५–नारायणगढ–मुग्लिन सडक खण्ड दुई सातासम्म दिउँसोमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बुधबार बसेको सुरक्षा समितिको बैठकले मंसिर २७ गतेदेखि लागू हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आआफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सबैमा आह्वान गरेको छ । सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारीसाधन १५ किलो र मालवाहक सवारीसाधन दासढुंगामा रोकिनेछन् ।

यस्तै, मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारीसाधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारीसाधन लेवाटार र आबुखैरहनीमा रोकिनेछ । एम्बुलेन्स, शववाहनलगायत अत्यावश्यक सवारीसाधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रहरी कार्यालय चितवनद्वारा जारी सूचनामा उल्लेख छ । (रासस)

Featured