खेलकुद देश

सरकारले स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख दिने

काठमाडौं, मंसिर २५–१३औं सागका स्वर्ण विजेता नेपाली खेलाडीलाई सरकारले सम्मानस्वरूप जनही ९ लाख रूपैयाँ दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार खेलाडीहरूलाई बालुवाटार बोलाएर सम्मान गर्दै नगद पुरस्कारको घोषणा गरेका हुन् । एक स्वर्ण जित्नेलाई ९, १ भन्दा बढी स्वर्ण विजेतालाई ११, समूह स्पर्धामा स्वर्ण ल्याउनेलाई जनही ५ लाख रूपैयाँ प्रदान गरिने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यसैगरी रजत पदक जित्ने खेलाडीले ६ लाख तथा कास्य विजेताले ३ लाख रूपैयाँ पाउनेछन् । प्रधानमन्त्री ओलीले भेटेरै बधाई दिन दिउँसो खेलाडी, प्रशिक्षक र पदाधिकारीहरूलाई बालुवाटार बोलाएका हुन् । प्रधानमन्त्री ओली स्वास्थ्य समस्याका कारण सागको उद्घाटन र समापन समारोहमा सहभागी हुन पाएका थिएनन् । प्रधानमन्त्रीले साग समापनका अवसरमा मंगलबार भिडियो सन्देशमार्फत खेलाडीहरूलाई बधाई दिएका थिए । काठमाडौं, जनकपुर, र पोखरामा भएको साग प्रतियोगितामा नेपाल ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जित्दै दोस्रो भएको थियो ।

स्वर्ण विजेतालाई २५ लाख पुरस्कार दिन माग
नेपाली कांग्रेसको भ्रातृ संस्था तरूण दलले दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई स्वर्ण दिलाएका खेलाडीलाई जनही २५ लाख उपलब्ध गराउन सरकारसँग माग गरेको छ । तरूण दलका अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै स्वर्ण विजेतालाई २५ लाख, रजत जित्नेलाई १५ लाख र कास्य ल्याउनेलाई १० लाखका दरले पुरस्कार प्रदान गरी खेलाडीलाई प्रोत्साहित गर्न सरकार र राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग आग्रह गरेका हुन् । बस्नेतले साग आयोजना गर्दा युवा तथा खेलकुद मन्त्रालय र राखेपाले भ्रष्टाचार गरेको आरोपसमेत लगाएका छन् ।

Featured