विदेश

गुजरात दंगामा मोदी र अमित शाहलाई क्लिन चिट

एजेन्सी, मंसिर २५–गोधरा काण्ड र गुजरात दंगाको छानबिनका लागि गठित न्यायाधीश नानावटी आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई क्लिन चिट दिएको छ । दंगाका क्रममा तीन जना आईपीएस अधिकारीको भूमिका भने शंकास्पद रहेको पाइएको उल्लेख छ । गुजरात विधानसभामा बुधबार पेश गरेको न्यायाधीश जीटी नानावटी र अक्षय मेहताको करिब ५ हजार पेजको रिपोर्टमा गुजरातको तत्कालीन मुख्य मन्त्री नरेन्द्र मोदी र तत्कालीन गृह राज्यमन्त्री अमित शाहसहित गुजरातका तीन पूर्वमन्त्री स्व. हरेन पान्ड्या, स्व. अशोक भट्ट र भरत बारोटलाई सफाइ दिएको हो । गृह राज्यमन्त्री प्रदीप सिंह जडेजाले पत्रकारलाई आयोगले आफ्नो अन्तिम रिपोर्ट पेश गरेको बताए ।

करिब ४४ हजार ४ सय ४५ को बयान र ४ सय ८८ जना सरकारी र प्रहरी अधिकारीको बयानका आधारमा यो रिपार्ट तयार पारिएको हो । गोधरा काण्डमा ५८ जनालाई जिउँदै जलाइएको थियो भने ४० जना घाइते भएका थिए । मोदी त्यस समयमा घटनास्थलमा गएका थिए । उनीमाथि सबुत नष्ट गरेको आरोप लागेको थियो । सो आरोपसमेत गलत भएको पाइएको छ । नानावटी मेहता आयोगलले आफ्नो पहिलो रिपोर्ट १८ नोभेम्बर २०१४ मा तत्कालीन मुख्य मन्त्री आनन्दीबेन पटेललाई बुझाएको थियो । अन्तिम रिपोर्ट आज बुझाएको हो ।

Featured