देश

सहकारीमा राजनीति, व्यवसाय भने कम्पनीबाट

काठमाडौं, मंसिर २५–सहकारीको नेतृत्व गर्दै संघ तथा महासंघमा पुग्नेहरू व्यवसाय सञ्चालनका लागि भने निजी कम्पनीमै आकर्षित हुने गरेका छन् । व्यवसायमा निजी कम्पनीमार्फत सञ्चालन हुने गरे पनि सामाजिक प्रतिष्ठा र राजनीतिका लागि मात्र सहकारी संघहरूलाई प्रयोग गर्ने प्रवृति बढ्दै गएको छ । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्सकन)का अध्यक्ष डिबी बस्नेत उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा मनोनित सदस्य हुन् । उनी महासंघको आसन्न साधारणसभामा जिल्लानगर उपाध्यक्षका दावेदारसमेत हुन् । यसअघि पनि जिल्लानगरमा उम्मेदवार रहेर पराजित भएका थिए ।

सहकारीमा उनलाई निजी क्षेत्रको प्रतिनिधिका रूपमा लिने गरिन्छ । नेफ्सकुनको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष बस्नेत र वरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले दावी गर्दै आएका छन । सहकारीको राजनीति गरे पनि उनीहरू भने कम्पनीमार्फत व्यवसाय सञ्चालनमै केन्द्रित छन् । घरेलु तथा साना उद्योगीको तर्फबाट महासंघको केन्द्रीय सदस्य रहेका बस्नेत पेट्रोल पम्प, प्रिन्टलगायतको व्यवसाय कम्पनीबाट सञ्चालन गरिरहेका छन् । पौड्याल भने निजी क्षेत्रको सबैभन्दा बढी लगानी रहेको हाइड्रोपावर कम्पनी साहस ऊर्जा कम्पनीका मुख्य लगानीर्तामध्ये एक हुन् ।

उक्त हाइड्रोपावरको उनी सञ्चालक रहेर काम गर्दै आएका छन् । यसैगरी राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेल पनि सहकारी क्षेत्रभन्दा बढी निजी क्षेत्रमै क्रियाशिल छन् । उनी पनि साहस ऊर्जाका मुख्य लगानीकर्ता र सञ्चालक सदस्य रहेका छन् । उनी महासंघको भावी अध्यक्षका लागि दावेदारी गरिरहेका छन् । राष्ट्रिय सहकारी संघका सञ्चालक र विकास बोर्डका सहअध्यक्षसमेत रहेका दक्ष पौडेल पनि प्रभु ग्रुपका मुख्य लगानीकर्ता हुने । उनी प्रभु ग्रुपमार्फत व्यावसायीक काम गर्ने र सहकारीमा राजनीतिका लागि मात्र नेतृत्वमा आएको आरोप लाग्दै आएको छ । यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।

Featured