देश

कञ्चनपुरमा लघु बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम

कञ्चनपुर, मंसिर २४–नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा आयोजित लघु बीमा सम्बन्धी १ दिने देशव्यापी अभिमुखीकरण कार्यक्रम कन्चनपुरको महेन्द्रनगर स्थित होटल ओपेरामा सम्पन्न भएको छ । कार्यक्रममा कञ्चनपुर जिल्लाका सम्पूर्ण लघुवित्त संस्था, सहकारी संस्था विभिन्न बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय, बीमा कम्पनीका प्रतिनिधिहरु, प्रहरी प्रशासनलगायत स्थानीय समाजसेवी, बुद्धिजीवीहरुको उपस्थित रहेको थियो ।

नेपालको पिछडिएको क्षेत्र तथा न्यून आय भएको वर्गसम्म लघु बीमाको पहुच विस्तार गरी न्यून आय भइ, आर्थिक, सामाजिक तथा भौगोलिक कारणबाट जोखिमग्रस्त वर्गका व्यक्ति तथा समुदायलाई लक्षित गरी उनीहरुको जीवन तथा सम्पत्तिको सम्भावित जोखिमबाट सुरक्षा प्रदान गरी गरिबी घटाउने र लघु बीमाबारे जनचेतना जगाउने मुख्य उद्देश्यका साथ यस कार्यक्रम आयोजना गरिएको हो । लघुबीमाले गरिब निमुखा जनताका लागि काम गर्ने भएकोले सबैले यसप्रति गम्भिर हुनुपर्ने र बीमा गरेर आफ्नो व्यवसाय तथा स्वास्थ्यको संरक्षण गर्नुपर्नेतर्फ शनिबार सम्पन्न लघुबीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रममा जोड दिइएको थियो ।

नेपाल बिमांक संघका कृष्ण न्योपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा भीमदत्त नगरपालिका ४ अध्यक्ष लक्ष्मी दक्त बोहरा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा प्रहरी उपरीक्षक दिनेश कुमार आचार्य, नेपाल हेल्पटास ईलमका टेकबहादुर सिहं, पशुसेवा बिक्री केन्द्रका देवदत्त भट्ट र समाजसेवी भवराज रेग्मी अतिथि रहेका थिए । बीमक संघका कल्पना निरौलाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन चन्द्रनाथ उप्रेती गरेका थिए ।

कार्यक्रममा सिर्जनशील सहकारी झलारीका कार्यकारी निर्देशक मदनराज भट्टलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बोहराले लघुबीमा अति आवश्यक र अनिवार्य रहेको भन्दै आम नागरिकले यसबाट लाभ लिनुपर्ने र यसका बारेमा आफूले भीमदत्त नगरपालिकाको तर्फबाट १९ वडामा प्रचार गर्ने बताए । कार्यक्रममा लघुबीमाको परिचय, उद्देश्य, महत्व र प्रभावकारिता तथा नेपाल बीमक संघ, बीमा कम्पनी, बीमा समिति, पुल कम्पनी तथा स्थानीय निकायको भूमिकाबारे उप्रेतीले सहजीकरण गरेका थिए ।

उपे्रतीले आफूले अस्पतालमा उपचार खर्च नभएर छट्पटाइरहेका परिवार तथा रकम अभावकै कारण मृत्युवरण गर्नु परेका विरामीहरु समेत देखेको भन्दै यस्तो अवस्था आउन नदिन सबैले जनतामा जनचेतना फैलाएर लघुबीमा गर्न प्रेरित गर्नुपर्ने बताए । लघुबीमामा धेरै रकमको आवश्यकता नपर्ने भन्दै उनले यसको सेवा सुविधा जस्तोसुकै वर्गले पनि उठाउन सक्ने हुँदा सबैले उपभोग गर्न आह्वान गरे ।

Featured