देश

५ केजी अवैध सुनसहित पक्राउ परेका भोटेविरुद्ध ३० करोडभन्दा बढीको मुद्दा

संखुवासभा, मंसिर २४–गत २७ असोजमा संखुवासभाको भोटखोला–२ बाट ५ किलोग्राम अवैध सुनसहित पक्राउ परेका तोप्चेन भोटेविरुद्ध ३० करोडभन्दा बढीको मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले भोटेविरुद्ध ३ करोड २६ लाख ५० हजार रुपैयाँ बिगोसहितको मुद्दा दायर गरेको जिल्ला अदालत चैनपुरका स्रेस्तेदार डिल्लीराम प्रसाईंले जानकारी दिएका हुन् । भोटेलाई प्रहरीले विशेष सुराकीका आधारमा भोटखोला गाउँपालिका–२ लिङ्गमबाट अवैध ५ किलोग्राम सुन, नगद ३८ हजार ८० रुपैयाँ र केही चिनियाँ मुद्रासहित पक्राउ गरेको थियो ।

प्रहरीले भोटेको बयानका आधारमा खाँदबारी नगरपालिका– १ का जर्का भोटे र भोटखोला स्थायी घर भएका खाँदबारी बस्ने छयाङ रिन्जिन भोटेलाई पनि पक्राउ गरेको थियो । भोटेले करिब १५ करोड १३ लाख २४ हजार रुपैयाँ मूल्यबराबरको २५ केजी सुन भन्सार छलेर राजस्व चुहावट गरेको कसुरमा राजस्व अनुसन्धान विभागले जिल्ला अदालत चैनपुरमा सो मूल्यको दोब्बर बिगो दाबीसहित मुद्दा दायर गरेको हो । राजस्व अनुसन्धान विभागले सुन तस्करी गर्न जर्को भोटेसहित सात जनाको समूहले आपसी मिलेमतोमा यसअघि पनि चार पटकसम्म राजस्व छलेर २५ किलो सुन तस्करी गरेको भन्दै उक्त सुनको मूल्यको दोब्बर बिगो दाबीसहितको मुद्दा दायर गरेृको जिल्ला अदालत चैनपुरका स्रेस्तेदार प्रसाईंले बताए।

सुन तस्करीमा संलग्न तोप्चेन भोटेसहित तीनै जना पुर्पक्षका लागि कारागार चलान भएको उनले बताए । राजस्व अनुसन्धान विभागले गत मंसिर १० गते जिल्ला अदालत चैनपुरमा मुद्दा दायर गरेको स्रेस्तेदार प्रसाईंले जानकारी दिए । सुन तस्करीमा संलग्न अन्य चार जना भने फरार भएको स्रोतको भनाइ छ । भोटेले संखुवासभा र चीनको किमाथाङ्का नाका हुँदै सुन तस्करी गर्ने गरेको बयान प्रहरीलाई दिएका थिए।

Featured