जनकपुर, मंसिर २४–जनकपुरधाममा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) उद्घाटनका क्रममा छाडिएको पटाका विस्फोट भएर गम्भीर घाइते भएका बालकको उपचारका क्रममा आज मृत्यु भएको छ । कुस्ती खेल भएको जनकपुरधाम उपमहानगरपालिका– १३ स्थित कभर्ड हलनजिकै घर भएका निर्मला राउतका घाइते १० वर्षीय छोरा आलोक राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बालक राउतको धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको धनुषाका प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहले बताए । २० मंसिरमा कुस्ती खेलको उद्घाटनका क्रममा नपड्केको पटाका बालकले घरमा लगेर खेलाउँदा विस्फोट भएको थियो । विस्फोटबाट पेट फुटेर बालक गम्भीर घाइते भएपछि उपचारका लागि धरान लगिएको थियो । उद्घाटनका क्रममा पटका पड्काउनेहरूको लापरबाहीले बालकले ज्यान गुमाउनुपरेको स्थानीयले आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस