खेलकुद देश

नेपाल चौथो पटक साग च्याम्पियन

काठमाडौंं, मंसिर २४–पुरूष फुटबलमा भुटानलाई हराउँदै नेपाल चौथो पटक दक्षिण एसियाली खेलकुद (साग)को च्याम्पियन बनेको छ । १३औं सागअन्तर्गत मंगलबार दशरथ रंगशालामा भएको फाइनलमा भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपाल समग्रमा चौथो पटक साग च्याम्पियन बनेको हो । नेपालका लागि अभिषेक रिजाल र सुनिल बलले गोल गरे । खेलको १६औं मिनेटमा अभिषेकको गोलबाट नेपालले अग्रता लिएको थियो । तर, पहिलो हाफको ३७औं मिनेटमा भुटानका छेटु ग्याल्जेनले गोल फर्काउँदै खेललाई बराबरीमा फर्काए ।

दोस्रो हाफमा नेपालका लागि सुनिलले गरेको गोल नै निर्णायक बन्यो । यसअघि साग पुरूष फुटबलमा नेपालले तीन पटक स्वर्ण जितेको थियो । सन् १९९३ मा नेपालले साग फुटबलमा पहिलो पटक स्वर्ण पदक जितेको थियो । त्यसबेला टिमका खेलाडी रहेका बालगोपाल महर्जन अहिले प्रशिक्षक छन् । यसअघि भारतमा भएको १२औं सागमा पनि नेपालले फुटबलतर्फको स्वर्ण पदक जितेको थियो । अघिल्लो संस्करणमा भारतलाई हराउँदै नेपालले स्वर्ण जितेको थियो ।

यस संस्करणमा भारत र पाकिस्तानले फुटबलमा भाग लिएनन् । अहिलेसम्म नेपाल पाँच पटक फाइनलमा पुगेको छ । भुटान भने सागको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो । समूह चरणमा नेपालले भुटानलाई ४–० ले हराएको थियो । भुटानले जारी सागमा बंगलादेशलाई १–० ले, माल्दिभ्सलाई २–१ र श्रीलंकालाई ३–१ ले हराएर फाइनल यात्रा तय गरेको थियो । फुटबलको यो फाइनलसँगै यो संस्करणको सागका सबै खेल सकिएका छन् । अर्को साग पाकिस्तानमा हुने तय भएको छ ।

Featured