खेलकुद देश

साग फुटबल फाइनलः दोस्रो हाफमा नेपाल २-१ ले अगाडि

काठमाडौंं, मंसिर २४–१३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलको स्वर्ण पदकका लागि भइरहेको खेलको दोस्रो हाफको सुरुमै नेपालले अर्को एक गोल गरेको छ । यो गोलसँगै नेपालको दुई गोल भएको छ भने भुटान एक गोलमा छ । नेपालका लागि सुनिल पालले गोल गरेका हुन् । दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि खेलको १६औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई अग्रता दिलाए । खेलको ३७औं मिनेटमा भुटानका लागि छेटु ग्याल्जेनले गोल फर्काएपछि पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको थियो ।

सन् १९९३ मा नेपालले साग फुटबलमा पहिलो पटक स्वर्ण पदक जितेको थियो । त्यो बेला टिमका खेलाडी रहेका बालगोपाल महर्जन अहिले प्रशिक्षक छन् । यसअघि भारतमा भएको १२औंमा पनि नेपालले फुटबलतर्फको स्वर्ण पदक जितेको थियो । अघिल्लो संस्करणमा भारतलाई हराउँदै नेपालले स्वर्ण जितेको थियो ।

यो संस्करणमा भारत र पाकिस्तानले फुटबलमा भाग लिएनन् । अहिलेसम्म नेपाल पाँच पटक फाइनलमा पुगेको छ । भुटान भने सागको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो । समूह चरणमा नेपालले भुटानलाई ४–० ले हराएको थियो । भुटानले जारी सागमा बंगलादेशलाई १–० ले, माल्दिभ्सलाई २–१ र श्रीलंकालाई ३–१ ले हराएर फाइनलमा आइपुगेको हो ।

Featured