देश

राजधानीका विभिन्न स्थानमा बम विस्फोट गराएको आरोपमा विप्लब नेकपाका काठमाडौँ इन्चार्ज तथा गायक माइला लामा पक्राउ

काठमाडौँ, साउन ५-प्रहरीले मध्यरातमा विप्लव समूहका उपत्यका इन्चार्ज तथा गायक माइला लामालाई पक्राउ गरेको छ। विशेष सुचनाको आधारमा प्रहरीले आइतबार मध्यराती लामालाई काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको हो।

प्रहरीले लामाको निर्देशनमा राजधानीका विभिन्न स्थानमा बम विस्फोट भएको दाबी गर्दै आएको छ। गायक समेत रहेका लामा विप्लव समूह भित्रको एक प्रभावशाली नेताको रुपमा चिनिन्छन्। उनले विभिन्न समयमा राजधानीको तीन स्थानमा बम विस्फोट गराउंदा ६ जनाको ज्यान गएको थियो।

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाउनुअघि गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल टावरलाई लक्षित गरेर बम विस्फोट गराएको थियो। उक्त बिस्फोट हुँदा एक सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य २ जना घाइते भएका थिए। त्यस्तै गत जेठ १२ गते राजधानीको अनामनगर घट्टेकुलो र सुकेधारामा भएको बम विस्फोटमा विप्लब समूहकै ५ जनाको मृत्यु भएको थियो। त्यस घटना लगत्तै लामा फरार भएका थिए। नेपाल प्रहरीले लामाको खोजी तीव्र पारेको थियो।

लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघका अध्यक्ष समेत हुन्। लामाले तत्कालिन माओवादीका लागि धेरै गीतहरू लेखेका छन् भने १२ बर्षे जनयुद्धमा सांस्कृतिक कार्यक्रमको नेतृत्व पनि गरेका थिए।

तस्बिर माइला लामाको फेसबुकबाट लिइएको।