देश

‘समान पदमा नै विभेद हुन्छ’

चिप्लेढुंगा, मंसिर २४–गण्डकी प्रदेशका प्रदेशसभा सदस्य महिलाले समान पदमा पनि विभेदको सामना गर्नुपरेको अनुभव सुनाएका छन् । मिडिया हाउस र यूएनडीपीको सहयोगमा पोखरामा भएको लैंगिक सवालमा संसदीय निगरानी कार्यक्रममा प्रदेशसभा सदस्यले मिश्रित र प्रत्यक्ष प्रणालीबाट निर्वा्चित प्रदेशसभा सदस्यलाई विभेदको दृष्टिकोणले हेरिने गरेको अनुभव सुनाएका हुन् ।

प्रदेशसभा सदस्य धनमाया लामाले भनिन्, ‘हामी एउटै रङको कोट लगाउँछौं, एउटै लोगो छ तर पनि प्रत्यक्ष र समानुपातिक भन्दै विभेद गरिन्छ, यसले हाम्रो आत्मसम्मान चोट पुगेको छ, प्रत्यक्षमा अधिकांश पुरुष निर्वा्चित हुनुहुन्छ, स्वाभाविक पनि हो प्रत्यक्षमा पुरुषले नै टिकट पाउनुभएको छ । राजनीतिमा निरन्तर योगदानसहित समानुपातिकबाट सभा सदस्य बने पनि दयामायाबाट मात्रै अवसर पाएजस्तो व्यवहार गरिन्छ ।’

प्रदेशसभा सदस्य एवं नेकपाकी सचेतक गायत्री गुरुङले महिलाले गरेको राजनीतिक योगदानको अझै पनि कदर हुन नसकेको बताइन् । उनले भनिन्, ‘महिलाका मुद्दा महिलाले मात्रै उठाउनुपर्छ भन्ने मानसिकताबाट नै सामाजिक न्याय स्थापित हुन सकेको छैन ।’ मुख्य र निर्णायक तहमा पुरुष मात्रै रहने परिपाटीले समतामूलक समाजको निर्माण हुन अझै समय लाग्ने उनको निष्कर्ष छ।

अर्का प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले राजनीतिक आन्दोलबाट सामाजिक परिवर्तनका अभियन्ता बनेर हिँड्दासमेत विभिन्न खाले हिंसा सहनुपरेको अनुभव सुनाइन् । पुरुषबाट द्विअर्थी लगाउने शब्दले आफूहरूलाई कतिपय अवस्थामा निकै लज्जित गराउने गरेको उनको अनुभव छ । त्यसैगरी अर्का सदस्य प्रभा कोइरालाले अब महिलाका सवालमा सबै पार्टीका महिला एकजुट भएर साझा मुद्दामा लड्न सकेमात्रै समानता र समतामूलक समाजको निर्माण हुनसक्ने धारणा राखिन् ।

प्रदेशसभा उपसभामुख सिर्जना शर्माले निर्णायक तहमा महिलाको सहभागिता नभएसम्म महिलाको आवाजले स्थान पाउन नसक्ने गुनासो गरिन् । उनले भनिन्, ‘प्रमुख र कार्यकारी पदमा पुरुषले नै नेतृत्व लिनुभएको छ, हाम्रो भूमिका गौण नै देखिन्छ ।’ अबको आन्दोलन निर्णायक तहमा महिलाको सहभागिताका लागि हुनुपर्ने उनको भनाइ थियो ।

Featured