देश

कोहलपुरको अवस्था सामान्य, निषेधाज्ञा हट्यो

कोहलपुर, मंसिर २४–आइतबार र सोमबार तनावग्रस्त रहेको बाँकेको कोहलपुर मंगलबार बिहानैबाट सामान्य बनेको छ । आइतबार बिहान स्कुले छात्रालाई ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि तनावग्रस्त बनेको थियो । सोमबार प्रदर्शनकारी र प्रशासनबीच सहमति भएपछि सोमबार आइतबार साँझदेखि लागू भएको निषेधाज्ञा पनि हटेको छ । बिहानैबाट कोहलपुर क्षेत्रका शिक्षण संस्थाहरू, यातायातका साधन, व्यापार व्यवसाय निर्वाध रूपमा सञ्चालन भइरहेका छन् । आइतबारदेखि जारी आन्दोलन सोमबार साँझ ६ बुँदे सहमतिसँगै टुंगिएको थियो। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सरकारसमक्ष विभिन्न ६ बुँदे माग गर्ने सहमति गर्दै आन्दोलन टुंग्याउने निर्णय गरेको थियो ।

कोहलपुरको पिपरीमा रहेको कृषि विकास बैंकको क्षत्रीय तालिम केन्द्रमा बिहान १२ बजेदेखि बसेको वार्ता बेलुका ५ बजे छबुँदे सहमति गर्दै टुंगिएको थियो । आन्दोलनका क्रममा घाइते भएका विद्यार्थी तथा अन्यहरूको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने सहमति भएको छ । सहमतिअनुसार दुर्घटनामा परेर दुवै खुट्टा गुमाएकी छात्रा चन्दको शिक्षा दिक्षासहित जीवनयापनका लागि उचित क्षतिपूर्तिको व्यवस्था गर्न गृह मन्त्रालयमा अनुरोध गरिने उल्लेख छ । कोहलपुरमा कुनै अप्रिय घटना हुन नदिन मंगलबार पनि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Featured