खेलकुद देश

१३औं सागः भुटानविरुद्ध नेपाल १–० ले अघि

काठमाडौं, मंसिर २४–१३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलको स्वर्ण पदकका लागि भइरहेको खेलमा नेपालले १–० ले अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि खेलको १६औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । सन् १९९३ मा नेपालले साग फुटबलमा पहिलो पटक स्वर्ण पदक जितेको थियो । त्यो बेला टिमका खेलाडी रहेका बालगोपाल महर्जन अहिले प्रशिक्षक छन् । यसअघि भारतमा भएको १२औंमा पनि नेपालले फुटबलतर्फको स्वर्ण पदक जितेको थियो । अघिल्लो संस्करणमा भारतलाई हराउँदै नेपालले स्वर्ण जितेको थियो ।

यो संस्करणमा भारत र पाकिस्तानले फुटबलमा भाग लिएनन् । अहिलेसम्म नेपाल पाँच पटक फाइनलमा पुगेको छ । भुटान भने सागको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो । समूह चरणमा नेपालले भुटानलाई ४–० ले हराएको थियो । भुटानले जारी सागमा बंगलादेशलाई १–० ले, माल्दिभ्सलाई २–१ र श्रीलंकालाई ३–१ ले हराएर फाइनलमा आइपुगेको हो ।

Featured