देश

ट्रकमा खाँदेर रातारात भैंसी ओसारपसार

बझाङ, मंसिर २४–बझाङबाट ठूलो संख्यामा राँगाभैंसी ओसारपसार हुने गरेको पाइएको छ । जिल्लाका विभिन्न ठाउँबाट सस्तो मूल्यमा भैंसी खरिद गर्ने र बाहिर चर्को मूल्यमा बेच्ने गरेको पाइएको हो । लगातार एक हप्तासम्म थलारा गाउँपालिकाको वडा नम्बर १ रेगम हुँदै केदारस्युँको देउरातर्फ एक दर्जन बढी राँगाभैंसी ल्याइएको भेटिएको छ । देउराको मसानघाटमा बाँधेर राख्ने र खरिदकर्ताहरू फेरि गाउँतर्फ राँगा⁄भैंसी खरिद गर्न जाने गरेका छन् । देउरा मसानघाटमा बाँधिएका भैंसीहरु दानापानी नपाएर दुब्ला देखिन्छन् । यस मसानघाट नजिकै जयपृथ्वी राजमार्ग भएकाले रातारात ट्रकमा राँगा⁄भैंसी खाँदेर बाहिरी जिल्ला पठाउने गरेको स्थानीय धनबहादुर भण्डारीले बताए ।

उनका अनुसार देउराबाट ठूला–ठूला ट्रकमार्फत् राँगा⁄भैंसी निर्यात हुने गरेका छन् । देउराबाट रातारात ट्रकमा कोचेर भैंसीलाई कैलाली, कञ्चनपुर, बाँके, काठमाडौं र भारतसम्म र्पुयाएर बेच्ने गरिएको छ । यसरी मासुजन्य खाद्यवस्तुका लागि निर्यात गरिने पशुपक्षीमाथि क्रुर व्यवहार हुँदै आएको छ । ट्रकमा राखेर लिइने राँगारभैंसीलाई चरम यातना दिने गरेको पाइएको छ । राँगाभैंसीलाई नाकेडोरी, पुच्छर र खुट्टामा बाँधी ओसारपसार हुने गरेको छ । पशु ढुवानी मापदण्ड, २०६४ को दफा १६ मा गाडीमा पर्याप्त हावाको आवागमन हुनुपर्ने, १७ मा ढुवानी गर्दा गाडीमा जबर्जस्ती कोचेर राख्न नहुने, १८ मा ढुवानीको समय ८ घन्टाभन्दा बढी हुन नहुने, २३ मा व्यापारिक प्रयोजनका लागि छत, डिकी र यात्रुवाहक सार्वजनिक सवारीसाधनमा ढुवानी गर्न नहुने स्पष्ट उल्लेख छ ।

तर सुदूरका पहाडी जिल्लाबाट लिइने राँगाभैंसीको नाकबाट रगत बगेको र पुच्छर आदि बाँधेर लिने गरेको देखिन्छ । यसरी दिनानुदिन भैंसी निर्यात हुन थालेपछि बझाङका ग्रामीण बस्तीमा पाइने रैथाने र गड्डी जातका भैंसी लोप हुने अवस्थामा पुगेका छन् । केही वर्षअघिसम्म प्रायः सबैका घरमा पालिने यस्ता जातका भैंसी अहिले लोप हुन थालेका हुन् ।

Featured