विदेश

गृहमन्त्री अमित शाहमाथि अमेरिकामा प्रतिबन्ध लगाउन माग

एजेन्सी, मंसिर २४–अन्तराष्ट्रिय धार्मिक स्वतन्त्रताबारे संघीय अमेरिकी आयोग (यूएससीआईआरएफ) ले भारतीय गृहमन्त्री अमित शाहमाथि प्रतिबन्ध लगाउन माग गरेको छ । ‘नागरिकता विधेयक गलत दिशामा अघि बढाएको एक खतरनाक कदम’ भएको टिप्पणी गर्दै सो विधेयक पारित भएमा शाहमाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठेको हो ।

यूएससीआईआरएफले एक वक्तव्य जारी गर्दै विधेयक लोकसभाबाट पारित भएकोमा चिन्ता व्यक्त गरेको छ । लोकसभाबाट सोमबार नागरिकता संशोधन विधेयक पारित भएको थियो । जसमा अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट धार्मिक रूपमा उत्पीडनका कारण ३१ डिसेम्बर २०१४ सम्म भारत आएका हिन्दू, सिख, बौद्ध, जैन, पारसी र इसाई समुदायलाई भारतीय नागरिकताका लागि आवेदन गर्न सक्ने प्रावधान समेटिएको छ ।

आयोगले भनेको छ, ‘यदि विधेयक दुवै सदनबाट पारित भयो भने अमेरिकी सरकारले गृहमन्त्री अमित शाहलाई प्रतिबन्ध लगाउने बारेमा विचार गर्नुपर्छ ।’ उनले धार्मिक समुदायलाई लक्षित गरी ल्याइएको विधेयकले आफूहरूलाई चिन्तित बनाएको पनि उसले जनाएको छ । लोकसभामा नागरिकता विधेयकको पक्षमा ३ सय ११ र विपक्षमा ८० मत परेको थियो । अब सो विधेयक राज्यसभामा पेश हुनेछ । विधेयक ऐतिहासिक रहेको दाबी गर्दै गृहमन्त्री शाहले यो भाजपाको घोषणापत्रको हिस्सा भएको दाबी गरेका छन् ।

यूएससीआईआरएफले यो विधेयकले आप्रवासीका लागि नागरिकता प्राप्त गर्ने मार्ग प्रशस्त गरेपछि मुस्लिम समुदायलाई यसले समेट्दैन । यसका आधारमा यो विधेयकले धार्मिक रूपमा विभाजित गर्न खोजेको बताएको छ । उसले भनेको छ, ‘विधेयक गलत दिशामा अधि बढाएको खतरनाक कदम हो । यो भारतको धर्म निरपेक्ष बुहलवादको समृद्ध इतिहास र धार्मिक भेदभाव नगर्ने भारतीय संविधानको मर्म्विपरीत रहेको छ ।’

Featured